लालबन्दी : पूर्वपश्चिम राजमार्गस्थित लखन्देही खोलाको पुलमा यात्रुबहाक बस दुर्घटना भएको छ।
आइतबार राति पौने ८ बजे काठमाडौँबाट बिर्तामोड जाँदै गरेको बा ४ ख ५९४९ नम्बरको रिजर्भ बसले नवलपुरबाट हरिवनतर्फ जाँदै गरेको ना ४ त ३०४१ नम्बरको ढुंगा लोड गरिएको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएर दुर्घटना भएको सर्लाही प्रहरीले जनाएको छ।
दुर्घटनामा बसका चालकसहित २५ जना घाइते भएका र उनीहरूलाई उपचारका लागि नवलपुरमा रहेका अस्पतालहरूमा लगिएको छ।
दुर्घटनापछि केही समय बाटो अवरोध भएको र जेसिबी ल्याएर बाटो खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
यस्तै दुर्घटनामा परेको ट्याक्टरमा तीन जना सवार रहेका र उनीहरू पनि घाइते रहेका प्रहरीले जनाएको छ। उक्त बस अन्य समयमा काठमाडौँ-मुलपानी चल्ने गरेको भन्ने बस चालकबाट बुझिएको प्रहरीले जनाएको छ।