
गोडैता : मौसम अनुकूल हुँदा यस वर्ष सर्लाहीमा धान उत्पादन राम्रो देखिएको छ। सर्लाहीका किसान यतिबेला बर्खेधान भित्र्याउने तयारीमा छन्।
गएको असारमा रोपेको धान यतिबेला पाकेर खेतै पहेँलपुर भएको छ। कतिपय किसानले दसैँअघि नै धान भित्र्याइसकेका छन् भने कतिपय किसान दसैँ सकिएलगत्तै धान भित्र्याउने तयारीमा छन्।
यस वर्ष मौसम अनुकूल हुँदा धेरै किसानले सिँचाइको सुविधा नभएको जमिनमा पनि धान रोपेका छन्।
सिँचाइएको सुविधान भएको जमिनमा पनि यस वर्ष राम्रो धान फलेको हरिवन- ८ का किसान गणेश निरौलाले बताए।
‘वर्षा पर्याप्त हुँदा बेलैमा धान रोप्न पाइएको थियो,’ हरिवन-८ बेताली घर भएका निरौलाले भने, ‘रोपेपछि पनि बेलाबेलामा पानी परिरह्यो। सुख्खा लाग्न पाएन। यस वर्ष मेरो मात्रै होइन, यो क्षेत्रमा सबैले राम्रो धान फलाएका छन्।’
सर्लाहीको हरिवन, बागमती, लालबन्दी, ईश्वरपुर जस्ता चुरे आसपासको क्षेत्रका सिँचाइएको सुविधा भएको जमिनमा पनि यस वर्ष राम्रो धान फलेको छ।