
लालबन्दी : सर्लाहीमा दुई ठाउँमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
सोमबार साँझ बागमती नगरपालिका-१२ मा बथानेबाट बागमतीपुलतर्फ जाँदै गरेको प्र२०३००८ प ३८४७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ६० वर्षीय कृष्ण मोक्तानको मृत्यु भएको हो।
गम्भीर घाइते भएका उनलाई बागमती मोडेल अस्पताल कर्मैया हुँदै एलएस न्यूरो बारा लगिए पनि थप उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै बसबरिया गाउँपालिका-६ पोखरीया टोलमा हीरापुरबाट मदनपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०२-००१ स ३०३० नम्बरको अटो अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा अटोमा सवार कविलासी नगरपालिका-३ बस्ने ३९ वर्षीय भुव नारायण राय यादवको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई प्रादेशिक अस्पताल मंलगवा लगिए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। साथै दुर्घटनामा घाइते भएका अटोमा सवार ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
अटो चालक भने फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले बताएको छ।