हरिवनः रौतहटबाट लाखौं मूल्य बराबरको अवैध चाँदीको गहना र मोटरसाइकलसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
बिहार सीतामढी जिल्ला बैरगनिया नगर परिषद् ८ असोगीका ६२ वर्षीय चन्देश्वर साह सोनारलाई गहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए।
विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकलमा शुक्रवार सीमावर्ती भारतीय बजार बैरगनियाबाट आउँदै गरेका साहमाथि शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो।
मोटरसाइकलको ट्यांकीमुनि प्लास्टिकमा लुकाएर राखेको कुल ७ लाख ७७ हजार ९२० रुपैयाँ बराबरको ७ किलो १८७ ग्राम चाँदीको विभिन्न किसिमका गहना चेकजाँचका क्रममा बरामद गरिएको प्रवक्ता रायले बताएका छन्।
गहना र मोटरसाइकल समेतको कुल ८ लाख २७ हजार ९२० रुपैयाँ ८८ पैसा मूल्यांकन गरी आरोपी साहलाई गहना मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ।