सर्लाही : सर्लाहीसहित तराईका जिल्लामा छठपूजाका लागि छठ घाट निर्माण कार्य सुरु भएको छ ।
यहाँका पोखरी, खोला, नहरलगायत जलाशय किनारमा बाँस गाडेर छठ घाट बनाउने काम सुरु गरिएको हो । यो वर्ष छठ पर्व कात्तिक २२ गते मनाइँदै छ ।
छठ पर्व आउन एक साताभन्दा बढी समय बाँकी रहँदा सर्लाहीमा २० वटै पालिकामा जलाशय किनार सरसफाइ गरी धमाधम छठ घाट निर्माणको काम भइरहेको स्थानीयले बताएका छन् । छठ घाट निर्माणका लागि कतै स्थानीय बासिन्दा आफैँ त कतै वडा तथा नगरपालिकाको कार्यालयले रकम दिएर छठ घाट निर्माणको काम अगाडि बढाएको छ ।
प्रायः ठाउँमा छठ घाटमा बाँसको खट बाँध्ने, बत्ती जडान गर्ने, टेन्ट राख्नेलगायत कामका लागि वडा कार्यालयले सहयोग गर्ने गरेका छन् । लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले आफ्नो वडाभित्र दुई ठाउँमा छठपूजा हुने गरेको र दुवै ठाउँमा छठ घाट निर्माण गर्दा लाग्ने सम्पूर्ण खर्च वडा कार्यालयले नै बेहोर्ने बताए। वडाध्यक्ष कार्कीका अनुसार लालबन्दी ७ मा डुमडुमे मन्दिर र मन्दिरदेखि दक्षिण वडा नं. ७ र ९ को सीमामा पर्ने डुमडुमे खोलामा छठ घाट निर्माणको काम सुरु भइसकेको छ ।
छठ घाट आसपास सरसफाइ गर्ने कामका लागि वडाबाटै मजदुर खटाइएको वडाध्यक्ष कार्कीले बताए। अधिकांश स्थानमा दीपावलीअघि नै छठ घाट तयार पार्ने गरी तयारी भइरहेको स्थानीयले बताएका छन् ।
बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले छठ घाट तयार पार्न नगरपालिकाबाट जेसिबी पठाउने गरिएको र अन्य सरसहयोग वडाबाट हुँदै आएको बताइन्।
बरहथवाका १८ वटा वडाको सयभन्दा बढी स्थानमा छठ घाट निर्माण गरेर छठपूजा हुने नगरप्रमुख कटुवालले जानकारी दिइन् ।छठपर्वमा व्रतालुले छठको मुख्य दिन सँझिया घाट अर्थात् छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिने र भोलिपल्ट त्यहीँबाट उहाउँदो सूर्यलाई अर्घ चढाउने प्रचलन रहेको छ । व्रतालुहरू अहिलेदेखि नै छठको व्रतमा प्रयोग हुने सरसामग्री जुटाउने काममा लागिसकेका छन् ।
यसैबिच पर्वका लागि ग्रामीण महिला घर लिपपोत र सरसफाइमा व्यस्त हुन थालेका छन् । महिलाहरू घरआँगन सरसफाइदेखि पर्वका लागि आवश्यक सरसामग्री जुटाउने व्रmम सुरु भएको बसबरिया गाउँपालिका–१,मानपुरका विनयकुमार राय यादवले बताए ।
जिल्ला सदरमुकाम मलङ्गवासहित बयलबास, बरहथवा, हरिपुर, लालबन्दी, हरिवन, नवलपुर जस्ता मुख्य बजारमा दीपावली र छठमा प्रयोग हुने सरसामग्रीको किनबेच बढ्न थालेको छ । तुलनात्मक रूपमा सस्तो पर्ने भन्दै सीमावर्ती क्षेत्रका बासिन्दा दीपावली र छठमा प्रयोग हुने सरसामग्री किन्न सीमापारि भारतीय बजारसम्म पुग्न थालेका छन् ।
गोरखकाली, त्रिभुवननगर, सङ्ग्रामपुर, खुटौना, भाडसर, फेन्हरा, बलरालगायतका नाकामा मानिसको आवतजावत बाक्लिन थालेको छ । जिल्लाका डोम समुदायलाई छठमा प्रयोग हुने बाँसका सामग्री बनाउने चटारो छ ।
माटाको भाँडा बनाउनेलाई पनि दीपावली र छठमा राम्रो व्यापार हुने हुँदा भाँडा निर्माण गर्ने काममा व्यस्तता बढेको देखिन्छ । छठ नजिकिँदै गर्दा जिल्लाका पोखरी, नहर, खोला किनारलगायतका जलाशयको सरसफाइका काम अगाडि बढेको छ ।