गढीमाई मन्दिरमा दर्शनार्थीलाई लुटपाट गर्ने तीन पक्राउ

बारा : बरियारपूरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा दर्शनार्थीको सुनको सिक्री चोर्ने पर्साका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका-१६ बस्ने शम्भु राय, सन्दीप राय र पर्सा पकहाँमैनपूर गाउँपालिका-५ का पवन यादव रहेका जिल्ला प्रहरी कार्यालयले दिएको छ।

मन्दिरमा आएका एक दर्शनार्थीको सुनको सिक्री चोरी भएको थियो। पछि मेलामा जडान गरिएको सिसिटिभीमा हेर्दा तीनै जनालाई पहिचान गरी सोही आधारमा पक्राउ गरिएका प्रहरीलाई उद्धृत गर्दै महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले जानकारी दिए। उनीहरूमध्ये एक जना आज एक दर्शनार्थीको पाइन्टको खल्तीबाट पैसा झिक्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

गढीमाई मेला असोज १७ गते घटस्थापनाको दिनदेखि नै विधिवत् रूपमा सुरु भएयता चार दर्शनार्थीहरूको सुनको सिक्री चोरी भएकामा चारै जनालाई पक्राउ गरिएको छ।

मेलामा सुरक्षाका लागि २० ठाउँमा सिसिटिभी जडान गरिएका र १० वटा थप्ने काम भइरहेको मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिका प्रमुख यादवले जानकारी दिए।

मेला अवधिभर सुरक्षाको यथोचित प्रबन्ध गरिएकाले ढुक्क भएर मेला भर्न दर्शनार्थीहरुलाई प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले आग्रह गरेका छ्न्।

सम्बन्धित समाचार

सबै