लालबन्दी : सर्लाहीबाट १३ वर्षमुनिका फुटबल खेलाडी छनोटमा सर्लाहीबाट ४ जना पर्न सफल भएका छन्।
अखिल नेपाल फुटबल संघ एन्फाले हिजो एक सूचना जारी गर्दै देशभरिका ७५ जनाको सूची सार्वजनिक गरेको थियो। जसमा सर्लाही लालबन्दी नगरपालिकाबाट २ जना, हरिवन र बागमतीबाट एक एक जना १३ वर्षमुनिका खेलाडी पर्न सफल भएका हुन्। एन्फाको अन्तिम छनोटमा पर्नेमा प्रीत मगर, आदेश दास, उजेन मान लोप्चन र आदित्य बलम्पाकी रहेका छन्।
मगर बागमती नगरपालिकाका हुन् भने दास र आदित्य लालबन्दी नगरपालिका हुन्। त्यसैगरी लोप्चन हरिवन नगरपालिकाका रहेका एन्फाका जिल्ला प्रशिक्षक श्याम कटुवालले सर्लाही न्युजलाई जानकारी दिए। बलम्पाकी भने गोलकिपर हुन्।
कटुवालका अनुसार मधेश प्रदेशका जिल्लामध्ये सर्लाहीबाट सबैभन्दा धेरै एन्फाको छनोटमा पर्न सकेका हुन्। मधेश प्रदेशका महोत्तरी र पर्साबाट कोही पनि छनोट हुन नसकेका उनले जानकारी दिए।
‘सर्लाहीबाट एकैसाथ चार जना छनोट हुन सक्नु भनेको मेरो लागि ठूलो उपलब्धि हो, मलाई लाग्छ यस्तो पहिलो पटक भएको हो,’ प्रशिक्षक कटुवालले भने, ‘हामी हाम्रो जिल्लाबाट आगामी दिनमा अझ धेरै खेलाडी छनोट गराउन सक्षम हुनेछौँ।’
छनोट भएका खेलाडीलाई एन्फाले अर्को सूचना जारी गरी काठमाडौँमा अभ्यास गराउने जनाएको छ। यसरी छनोट भएका खेलाडीहरूबाटै एन्फाले आगामी दिनमा उमेर समूहका अन्तर्राष्ट्रिय खेलहरूमा सहभागी गराउने गर्दछ।