छठका लागि महोत्तरीमा भारतबाट आयो ५० लाखका केरा

महोत्तरी : महोत्तरीको जलेश्वरमा छठ पर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट ५० लाख रुपैयाँ बराबरका केरा भित्र्याएका छन्।

जलेश्वरमा बुधबार लाग्ने अन्तिम हाटबजारमा ५० लाखको केरा ल्याएको व्यवसायी गणेश साहले बताृ। अघिल्ला वर्षमा २०–२५ लाखसम्मको केरा ल्याउने गरिएकामा यो वर्ष रु ५० लाखको केरा ल्याएको अर्का व्यवसायी उत्तम साहले बताए।

जलेश्वरमा केरा व्यवसाय गर्दै आएका पाँच-सात जना व्यापारीले सामूहिक रूपमै यसपालि २५ ट्रक केरा मगाएका छन्। उनीहरूले सो ट्रकलाई आपसमा आफूले गरेको लगानीका आधारमा बाँडेर बेच्ने गरेका छन्। विगत वर्षमा १५ देखि २० ट्रकमात्र केरा आउने गरेको जलेश्वरमा यो वर्ष ४० ट्रक केरा भित्रिएको छ।

ग्रामीण क्षेत्रबाट बसाइँसराइ र आन्तरिक रूपमै पनि जलेश्वरमा दिनानुदिन बढ्दै गरेको जनसङ्ख्यालाई मध्यनजर गर्दै यसपालि स्थानीय केरा व्यापारीले ५० लाखको केरा ल्याएको र सबै बिक्री हुने दाबी गरेका छन्। जलेश्वर बजारमा यसपालि केरा प्रतिघार छ–सात सयदेखि १५ सय रुपैयाँसम्म बिक्री भइरहेको छ।

बजारमा ल्याइएका गोपाल, मालभोग, वंशीभोग र मृचमान प्रजातिका केरा छन्। जलेश्वर नगरपालिकाको १२ वडालगायत वरपरका अन्य पालिकाका व्रतालु पनि जलेश्वर बजारमा केरा किन्न बिहानैदेखि बजार आएका छन्।

सम्बन्धित समाचार

सबै