सर्लाहीमा प्रधानाध्यापकमाथि गोली प्रहार

बागमती : अज्ञात समूहको गोली प्रहारबाट सर्लाहीमा एक प्रधानाध्यापक गम्भीर घाइते भएका छन् ।

सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका–६ स्थित बागमती किनारमा आइतबार अज्ञात समूहले मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँका प्रेमबहादुर बोम्जनमाथि गोली प्रहार गरेको हो ।

इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी सहायक निरीक्षक कलमबहादुर शाहीका अनुसार गोली बोम्जनको गालामा लागेको छ ।घटनालगत्तै इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी सहायक निरीक्षक शाहीको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।

घाइते प्रधानाध्यापक बोम्जनको बागमतीस्थित बागमती मोडल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बारा लगिएको प्रहरीले जनाएको छ ।

प्रधानाध्यापक बोम्जन रौतहटको गैयाटारस्थित आफन्तको घरबाट बागमती–झनझने सडक हुँदै ना.४० प. ६६४६ नम्बरको मोटरसाइकलमा घर फर्कंदै थिए ।

उनी मकवानपुरको बकैया गाउँपालिकास्थित बुद्ध माध्यमिक विद्यालय हात्तीसुँडेका प्रधानाध्यापक हुन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

सम्बन्धित समाचार

सबै