यातायात कार्यालय मलंगवा बिचौलियाको कब्जामा, सेवाग्राही देख्दा रिसले आगो हुन्छन् कर्मचारी

मोबाइलमा व्यस्त कर्मचारीकै बचाउमा उत्रिए कार्यालय प्रमुख

राजेन्द्र विश्वकर्मा

सर्लाही : सर्लाहीको मलंगवास्थित यातायात व्यवस्था कार्यालय बिचौलियाको कब्जामा फसेको छ।

घुसको लोभमा यातायात कार्यालयलाई कर्मचारीले बिचौलियाको अखडा मात्र बनाएका छैनन्, आफूले गरिदिनुपर्ने सेवाग्राहीको काम पनि बहानाबाजी गरेर बिचौलियामामार्फत लगाउने गरेका छन्।

कात्तिक २६ गते सोमबार यातायात कार्यालय मलंगवा पुग्दा वरपर एक दर्जनभन्दा बढी बिचौलिया चालक अनुमति पत्र लाइसेन्स परीक्षामा अनुत्तीर्ण भएकाहरूलाई पास गराउन सक्रिय बनिरहेका थिए।

बाहिर बिचौलियाहरू सेवाग्राहीसँग बार्गेनिङमा थिए भने कार्यालयभित्र कर्मचारी मोबाइलमा व्यस्त। कोही फेसबुक चलाउँदै थिए त कोही टिकटकमा मुख बिगार्दै बसिरहेका देखिन्थे।

प्रायः कर्मचारी कर्मचारी पोशाकमा थिएनन्, न त उनीहरूले आइडी कार्ड नै झुण्ड्याएका थिए। सेवाग्राही पुग्दासमेत बेवास्ता गरिरहेका उनीहरू कसैले केही सोधे झर्को र फर्को गर्दैथिए भने कतिपय त बोल्नसमेत पैसा तिर्नुपर्ने जस्तो अवस्थामा थिए।

सामान्य काम लिएर गएका कर्मचारीहरूलाई पनि विभिन्न बहाना बनाएर उनीहरूले ‘यो कोठामा जानुस्, त्यो कोठामा जानुस्’ भनी घुमाइरहेको देखिन्थ्यो। उनीहरूको उद्देश्य बिचौलियामार्फत काम गराउनु र घुमाइफिराइ घुस लिनु थियो भन्ने प्रस्ट देखिन्थ्यो।

केही कर्मचारीले त ‘व्यवहार मिलाउनुपर्छ’ भनी खुलेआम त्यहीँ घुस मागिरहेका थिए। सोमबारै सर्लाही गोडैता नगरपालिकाका अर्जुन कुशवाहा (नाम परिवर्तन) गाडीको इन्सोरेन्स (बिमा) गराउन पुगेका थिए।

कार्यालय पुग्नेबित्तिकै उनलाई गेटमै बिचौलियाहरूले घेरिहाले। बिचौलियाहरूले भन्न थाले, ‘भित्र गए काम बन्दैन्, यहीँबाट गराउनुपर्छ। उनीहरूकै भनाइअनुसार कुशवाहले इन्सोरेन्सको फारम भरे र कार्यालय छिरे।

बाहिरभन्दा अत्यासलाग्दो भित्रको अवस्था

कार्यालय भित्र गएका कुशवाहलाई कर्मचारीले सुरुमा काम हुँदैन भने। ‘मलाई बिल काट्ने समय सकिएको भनेर यताउता घुमाइरहे’, कुशवाह भन्छन्, ‘काम हुँदैन भन्नुको सट्टा कार्यालयभरि घुमाएपछि कोठाभित्रै रहेका एकाउन्टेनले (रूपा सिंह) अन्त्यमा बोले- आज तपाईको काम हुँदैन, तपाईंले खोजिरहेको मान्छे मै हुँ।’

कर्मचारीले अनेकतिर घुमाइदिएपछि आइपुगेका एकाउन्टेटको बोली सुनेर कुशवाह एकछिन रिसले चुर भए। तर उनलाई जसरी पनि काम गराउनु थियो, रिस देखाउन सकेनन्।

तर ‘मलाई किन यसरी घुमाइरहेको त’ कुशवाहले यति के भनेका थिए, एकान्टेन्ट सिंह उल्टै थर्काउन थाले। सिंहले चर्को बोल्न सुरु गरेपछि त्यहाँ भएका अन्य सेवाग्राहीले पनि उनको भिडियो बनाउन थाले।

कर्मचारीकै बचाउमा उत्रिए कार्यालय प्रमुख

केहीबेर सामान्य वादविवादपछि कुशवाह कार्यालय प्रमुख राकेश यादवलाई भेट्न उनको कार्यकक्षमा पुगे। काम नगर्ने कर्मचारीको शिकायत लिएर पुगेका कुशवाह हाकिमबाट काम हुन्छ भन्ने ध्याउन्नमा थिए। तर अवस्था उल्टो भयो। कार्यालय प्रमुख यादवले उल्टै आफ्ना कर्मचारी त्यस्ता नभएका बताए। ‘कर्मचारीले मोबाइल चलाएको भिडियो देखाउनुस् म एक्सनमा जान्छु’ भनेका प्रमुख यादवले भिडियो हेरेपछि बोली फेरे।

एक जना सेवाग्राहीले कर्मचारीले मोबाइल चलाएर बसेको भिडियो देखाइदिएपछि प्रमुख यादव त विगतका कामहरूको वर्णन पो गर्न थाले। उनले प्रसंग मोडे, आफ्ना कर्मचारीको दोष देखेनन्। उल्टै भन्न थाले, ‘हामी आजभोलि मोबाइलबाटै काम गर्छौँ, कर्मचारीहरूले त्यही गरेको हुन् सक्छ।’

कार्यालयमा त्यतिका धेरै कम्प्युटर हुँदाहुँदै मोबाइलबाट कसरी काम हुन्छ भन्ने कुशवाहको प्रश्नको उत्तर दिनुको साटो प्रमुख यादवले फेरि विषय र प्रश्न मोड्नतिर लागिपरे।

केही दिनअघि एक सेवाग्राहीको १५ दिनदेखि रोकिएको काम आफूले ह्वाट्सअपबाट गरेको भन्दै यादवले आफ्नै पोल खोल्न थाले। कर्मचारी जोगाउन आफूले सेवाग्राहीलाई कतिसम्म दुःख दिनुपरेको थियो, त्यसको बेलिविस्तारमा उनी लागिपरे।

यो एउटा उदाहरणबाट बुझ्न सकिन्छ कि यातायात कार्यालयमा कति दुःख पाइन्छ र कति अनियमितता हुन्छ। ‘१५ मिनेटभित्र हुने कामका लागि अनेक् दुःख दिइन्छ र हरेक दिन धाउँदा पनि काम हुँदैन,’ त्यहीँ अर्का सेवाग्राही भन्छन्, ‘तर बाध्यता छ, यहीँ नआई हुँदैन।’

२०८० साल मंसिरमा स्थापना भएको यो यातायात कार्यालयमा स्थापना भएदेखि राकेश यादव नै कार्यालय प्रमुखका रूपमा रहँदै आएका छन्। स्थापनादेखि नै घुस, अनियमितता र भ्रष्टाचार मौलाएको भन्दै सेवाग्राहीले गुनासो गर्दै आएका छन्। कार्यालय प्रमुख यादवमाथि विभिन्न बिचौलिया खडा गरेर पैसामा लाइसेन्स बिक्री गरेको आरोप लाग्दै आएको छ।

सम्बन्धित समाचार

सबै