रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढ्यो

महोत्तरी : आगामी आइतबार रामगोपालपुर नगरपालिका–२ मा वडाध्यक्षको निर्वाचन हुँदैछ । मतदातालाई आफ्नो पक्षमा पार्न उमेदवारहरु मतदाताका घर आँगनमा पुगेका छन् । आसन्न चुनावले उक्त वडामा चहलपहल बढाएको छ ।

मौन अवधि प्रारम्भ हुनु अगावै प्रचारप्रसारमा जुटेका उनीहरूले मधेस मामिला उजागर गर्दै विभेद विरुद्ध उभिएको र विकास–निर्माणलाई नै केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता मतदाता समक्ष व्यक्त गरिरहेका छन् ।

यहाँ दलका सात र स्वतन्त्र ११ गरी १८ जना उमेद्वार मैदानमा छन्। यस अघिको निर्वाचनमा विजयी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) चुनाव जित्नैपर्ने दबाबमा छ। गत भदौमा दुर्घटनामा ज्यान गुमाएका मुकेशकुमार यादवकी पत्नी आइतीकुमारीलाई उक्त पार्टीले उमेद्वार बनाएको छ।

नेपाली कांग्रेसका मोहम्मद जनिफ खाँ आसन्न उप-निर्वाचनमा आफू जित्ने दाबी गर्छन्। अघिल्लो निर्वाचनमा ५८ मतले पारजित उनी यस पटक मतदाताले आफूलाई जिताउनेमा ढुक्क छन् । सोही निर्वाचनमा तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका सकिबुल खान यसपटक नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उमेद्वार हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनता पार्टी बाट क्रमशः मोहम्मद मनान खान, खुरसेद खान र राजेशकुमार यादव उमेदवार छन्।

यसअघि मुकेशकुमार यादवले ४३३, जनिफ खानले ३७५, ज.स.पा.का सकिवुल खानले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत प्राप्त गरेका थिए । सो वडामा हाल एक हजार २०१ पुरुष र ९४० महिला सहित दुई हजार १४१ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

सबै