सवारी दुर्घटनाः सर्लाहीका एकसहित मधेश प्रदेशमा ५ जनाको मृत्यु

सांकेतिक तस्वीर

लालबन्दी : पछिल्लो २४ घण्टामा मधेश प्रदेशमा सवारी दुर्घटनामा परी सर्लाहीका एक जनासहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पर्साको जगरनाथापुर गाउँपालिका-१ पिडारीस्थित सडकमा प्र २-०३-००१ त ३६३० नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय वीरेन्द्र साहको शुक्रबार दिउँसो मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुर्घटनापछि फरार भएका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

यसैगरी पर्साकै वीरगन्ज महानगरपालिका-१७ अलौ चोक छवगछियास्थित सडकमा ना८ ख २६११ नम्बरको टिपरले बिआर २२ बिजि १४५२ नम्बरको स्कुटरलाई शनिबार बिहान ठक्कर दिँदा स्कुटरमा सवार जिराभवानी गाउँपालिका-५ सखुवनिया बस्ने ३० वर्षीय प्रभु राउत थारूको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनापछि फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ।

यस्तै सिरहा नगरपालिका-१९ सन्हैठा चोकमा औरहीबाट सिरहातर्फ जाँदै गरेको प्रदेश २- ०१-००१ प ८५२१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५८ वर्षीय पतिराम चौधरीको शुक्रबार साँझ मृत्यु भएको छ।

उक्त मोटरसाइकल तथा भारतीय नम्बरको बिआर ०१ एसएम ४८१३ नम्बरको कारले समेत ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई सोही अस्पताल हुँदै थप उपचारका लागि ‍न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ। कार चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

यसैगरी सिरहाकै सिरहा नगरपालिका-९ गुलरिया चोकमा सिरहाबाट चौहर्बातर्फ जाँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक नवराजपुर गाउँपालिका-१ तानासुया बस्ने ४५ वर्षीय रंजित मुखियाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल सिरहामा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनालाई थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ।

यता रौतहटको राजदेवी नगरपालिका-१ पथरास्थित सडकमा पथराबाट बडहर्वातर्फ जाँदै गरेको भारतीय नम्बर बिआर ३० एके १४६५ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा स्कुटर चालक सर्लाही चक्रघट्टा नगरपालिका-४ बेलही टोल बस्ने २५ वर्षीय निशान्त अधिकारीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो।

सम्बन्धित समाचार

सबै