कुलमानलाई हटाउन लेखा समितिका सभापति लागिपरेका अमरेश सिंहको आरोप

काठमाडौँ : स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसद‍्को लेखा समिति सभापति ऋषिकेश पोखरेलले विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई पदबाट हटाएर सहकारी ठगीमा मुछिएकी आफ्नी श्रीमतीलाई जोगाउन खोजेको आरोप लगाएका छन्।

लेखा समितिको बैठक नबसेको गुनासो राज्यव्यवस्था समितिको बैठकमा पुगेर गरेका अमरेशले बैठक नबस्दा आफूहरूले बोल्ने मौका नै नपाएको गुनासो पनि गरे।

बिहीबार निजामती विधेयकमा संशोधन राख्न समिति प्रवेश गरेका सिंहले लेखा समिति सभापतिका कारण बैठक बस्न नसकेको आरोप लगाए।

विगतमा आफू राज्यव्यवस्था समिति सदस्य हुँदा समिति सभापति शशि श्रेष्ठ रहेको र उनी मन्त्री बनेपछि समिति बैठक नबसेको प्रसंग निकाल्दै उनले गुनासो गरे।

‘विगतमा यहाँ बोल्न पाइएन र लेखा समिति गएँ यसपटक‚’ उनले भने‚ ‘तर‚ यहाँ पनि उस्तै छ। लेखा समिति सभापतिले प्राधिकरणका कुलमानलाई हटाउन खोज्यो, हटाउन सकिएन। त्यसपछि समितिको बैठक नै बसेको छैन।’

‘कुलमानलाई कारबाही गर्न सीआईबी, सम्पत्ति शुद्धीकरण र अख्तियारलाई लेखेर पठाउने। हामीजस्तो पीएचडी गरेको मान्छेले त्यस्तो निर्णय गर्न दिन्छ भन्ने लागेको थियो सभापतिलाई। हाम्रो पठाइको नै बेइज्जत हुन्छ‚’ उनले भने‚ ‘होटलमा लेखेर पेनड्राइभमा ल्याएर तीन दिन अगाडि निर्णय हातमा दिएको थियो। समिति सचिवालयमा सोध्दा प्रिन्टमात्र भएको र टाइप यहाँ नभएको भन्यो। निर्णय पारित गर्न नसकेदेखि लेखा समिति बन्द छ।’

जुन समिति गए पनि आफ्नो कुरा राख्न नपाएको उनले गुनासो गरिरहे।

सम्बन्धित समाचार

सबै