सर्लाहीका अमनमाथि भएको कुटपिटको विरोधमा सलेमपुरमा टायर बालेर प्रदर्शन

मलंगवा :नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता जनकपुर बोल्ट्सका समर्थकमाथि त्रिवि क्रिकेट मैदानमा भएको आक्रमणको विरोधमा सर्लाहीमा प्रदर्शन भएको छ।

सोमबार बिहान सर्लाहीको सलेमपुरमा स्थानीयले विरोध प्रदर्शन गरेका हुन्।

फाइनल सकिएपछि सर्लाही बलराका अमनकुमार सिंहलाई एउटा समूहले घाइते बनाएको थियो। सिंहको दुवै हात भाँचिएको छ। उनलाई वीर अस्पतालमा राखेर उपचार गरिँदै छ।

प्रदर्शनकारीहरूले जनकपुर बोल्ट्समाथि असभ्य तरिकाले गाली गर्ने, कुटपिटमा उत्रिने सबैलाई कारबाहीको माग गरेका छन्।  जनता समाजवादी पार्टीनिकट समाजवादी युवा संघ सर्लाहीले प्रदर्शन गरेको हो।

नवलपुर-मलंगवा सडकखण्ड अन्तर्गत कविलासी नगरपालिका–१०, सलेमपुरमा चोकमा युवा र स्थानीयले टायर बालेर प्रदर्शन गरेका हुन्।

सडकमा टायर बालेर प्रदर्शन गरेपछि बसलगायत ठूला सवारी त्यही रोकिएका छन् भने साना सवारी वैकल्पिक मार्ग भएर पास भइरहेका छन्।

सिंहमाथि कुटपिट भएपछि दोषीलाई कारबाही माग गर्दै मधेशी आयोगमा उजुरी परेको छ। उजुरीपछि छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको मधेशी आयोगका कार्यवाहक अध्यक्ष जिवछ शाहले बताएका छन्।

यो पनि पढ्नुहोस्

एनपिएल फाइनलमा ‘मधेशी’ भन्दै सर्लाहीका अमनमाथि कुटपिट, प्रहरीले बढायो अनुसन्धान

सम्बन्धित समाचार

सबै