प्रहरीको प्रारम्भिक निष्कर्षः अमनमाथि कुटपिट भएको होइन, लडेर घाइते भएका हुन्

काठमाडौँ : त्रिवि क्रिकेट मैदानबाहिर आक्रमणमा परेका भनिएका सर्लाही बलराका अमनकुमार सिंहमाथि कुटपिट नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानले निष्कर्ष निकालेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल समापनपछि शनिबार त्रिवि क्रिकेट मैदान बाहिर मधेशी समुदायमाथि नश्लीय र साम्प्रदायिक व्यवहार भएको भन्दै विरोध भएको थियो।

अमनमाथि कुटपिट भएको भन्दै केही संगठन तथा नेताहरूले घटनाको अनुसन्धान गर्न माग गरेपछि प्रहरीले यसमाथि अनुसन्धान बढाएको थियो।

भीडले कुटपिट र लछारपछार गर्दा अमनको दुवै हात भाँचिएको भनी मधेसी आयोगमा उजुरीसमेत परेको थियो।तर, प्रहरीको प्रारम्भिक छानबिनअनुसार अमन खेल सकिनुअघि नै अस्पतालमा भर्ना भएको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ।

अस्पतालको रेकर्डअनुसार शनिबार २ बजेर १२ मिनेटमा उनी ट्रमा सेन्टरमा भर्ना भएको देखिएको छ। जतिबेला त्यसबेला फाइनल खेल सकिएको थिएन।

अमनको परिवारले भने क्रिकेट मैदान बाहिर हुलदंगा हुँदा उनी घाइते भएको जिकिर गरेका छन्। अमन लडेर घाइते भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ।

फाइनल खेल सकिएपछि हुलदंगा गरेको आरोपमा प्रहरीले भने दुई जनालाई पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेको छ। पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिका घर भएका २१ वर्षीय अशोक साउद र दिपायल सिलगढी नगरपालिका घर भएका १८ वर्षीय गणेश साउद छन्।

अमनले भने आफूमाथि केही व्यक्तिले कुटपिट गरेर लडाएको र त्यसपछि आफूलाई थाहा नभएको प्रहरीसँग बताएका छन्।

यता सर्लाहीमा आज बिहान अमनमाथि भएको दुर्व्यवहारको भर्त्सना गर्दै टायर बालेर पदर्शन गरिएको थियो।

 

 

सम्बन्धित समाचार

सबै