
हरिवन : सर्लाहीमा ट्याक्टरको पछाडि स्कुटर ठोकिँदा नगर प्रहरीमा कार्यरत युवकको मृत्यु भएको छ।
गएराति ११ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन-९ नोचामा भएको दुर्घटनामा हरिवन नगरपालिकामा नगर प्रहरीमा कार्यरत हरिवन नगरपालिका-८ का २५ वर्षीय कवि रिखाम मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ।
राति ११ बजे इन्दुशंकर चिनी उद्योग हरिवनमा उखु पुर्याएर पश्चिमतर्फ जाँदै गरेकाे ना.६ त. ३०५० नम्बरको ट्याक्टरमा बागमती प्रदेश ०२-०२८ प ६५०८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्वाभिमान अस्पताल हरिवनमा सामान्य उपचार पश्चात् थप उपचारका लागि बाराको न्यूरो अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार हरिवन-८ कै करिब ४० वर्षीय रामजी बस्नेतको न्युरो अस्पतालमै उपचार भइरहेको छ।
दुर्घटनापछि ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
यस्तै, नगर प्रहरी जवान मगरको निधनप्रती दुख व्यक्त गर्दै हरिवन नगरपालिकाले आज (मंगलबार) शोक बिदा दिएको छ। मृतक मगर हरिवन नगरपालिकामा नगर प्रहरीको रुपमा कार्यरत थिए।