
लालबन्दी : सर्लाहीमा प्रशासनले एकपछि अर्को गर्दै जिल्लामा मापदण्डविपरीत सञ्चालित क्रसर उद्योग बन्द गराइरहेको छ। यस क्रममा आज सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकामा सञ्चालित ४ वटा क्रसर उद्योगलाई बन्द गर्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिएका छन्।
आज जिल्ला अनुगमन उपसमितिका संयोजक एवं जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुमार महतो नेतृत्वको टोलीले फूलजोर बाबा बालुवा तथा गिट्टी प्रशोधन उद्योग ईश्वरपुर ५, शुुभम एग्रिगेट इण्डष्ट्रिज ईश्वरपुर ५, सिद्धिविनायक एग्रिगेट इण्डष्ट्रिज हरिपुुर ८ र राजदेवी माई बालुवा गिट्टी ढुंगा वासिङ्ग प्रालि हरिपुर-५ लाई पत्र दिएर तत्काल उद्योग बन्द गर्न निर्देशन दिएको हो।
आज यी चारवटै उद्योगको अनुगमन गर्दा ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी पहिलो संशोधन मापदण्ड, २०७९ ले तोकेका मापदण्ड पूरा नगरेकाले आजैका मितिदेखि उद्योग बन्द गर्न निर्देशन दिइएको जिल्ला समन्वय समितिले क्रसर उद्योगलाई काटेको पत्रमा उल्लेख छ।
यी चारवटै उद्योगको आज जिल्ला समन्वय समितिका उपप्रमुख महतो, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, हरिपुर र ईश्वरपुरमा रहेका स्थानीय नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको युनिटका इन्चार्जलगायतले स्थलगत निरीक्षण गरेका थिए।
यसअघि हिजो र पुस ६ गते जिल्ला अनुगमन समितिका पदाधिकारीले अनुगमन गरी लालबन्दी नगरपालिका-१७ राजनीगञ्जको प्रिन्स क्रसर उद्योग र बागमतीका दुई वटा क्रसर उद्योगलाई मापदण्डविपरीत रहेको भन्दै बन्द गर्न र त्यसको निगरानी गर्न निर्देशन दिएका थिए।
अनुगमनकै क्रममा हिजो बागमती नगरपालिका ६ चन्दनघाटमा कतै कुनै निकायमा दर्ता नभएका मोबाइल क्रसर र त्यसमा प्रयोग भएका उपकरण तथा सवारी बरामद गरिएको थियो।