सर्लाहीबाट सेतो हिरोइनजस्तो देखिने लागुपदार्थसहित २ युवक पक्राउ

मलंगवा : लागूऔषध सेतो हिरोइनजस्तो देखिने पदार्थसहित सर्लाही प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

सीमावर्ती गोडैता नगरपालिका–१२, मधुुवनी गाउँस्थित सडक खण्डमा मोटरसाइकलमा भारतको मेजरगन्जबाट मधुवनीतर्फ आउँदै गरेको अवस्थामा हिजो सेतो हिरोइन जस्तो देखिने पदार्थ ५२ ग्राम ५१० मिलीग्राम बरामद भएको सर्लाही प्रहरीका प्रमुख (एसपी) रवीन्द्रबहादुर सिंहले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय गडहीयाबाट संयुक्त रूपमा परिचालित प्रहरी टोलीले दुई युवालाई पक्राउ गरेको हो।

उनीहरूको नाम सार्वजनिक गर्दा अन्य कारोबारी फरार हुन सक्ने भन्दै प्रहरीले नाम गोप्य राखेको जनाएको छ।

उनीहरुविरुद्ध सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेर अनुसन्धान भइरहेको एसपी सिंहले बताए। उनका अनुसार प्रदेश प्रहरी कार्यालयको टोलीसमेत आएर यस विषयमा अनुसन्धान गरिरहेको छ।

प्रहरीले लागूऔषध सेतो हिरोइनको ओसारपसार गर्न प्रयोग भएको प्रदेश–०३–००५ प ५२६२ नम्वरको मोटरसाइकलसहित युवकको साथमा रहेको ३३ हजार ३२० रुपैयाँ नगद र दुई थान मोबाइल बरामद गरेको छ।

सम्बन्धित समाचार

सबै