काठमाडौँ : सरकारले एम्बुलेन्स, शववाहन सवारी साधन खरिदमा भन्सार छुट दिएको छ। भन्सार तिरेर किन्नुपर्दा २० देखि २५ लाख रूपैयाँसम्म पर्ने एम्बुलेन्स भन्सार छुटमा १० देखि १५ लाख रुपैयाँ मात्रै पर्छ।
तर यसरी भन्सार छुट गराएर ल्याइएको एम्बुलेन्स सर्लाहीबाट मोटो रकममा अन्यत्र बिक्री भइरहेको पाइएको छ।
सर्लाहीका अधिकांश स्वास्थ्य संस्थाले भित्र्याएका यस्ता राजस्व छुटप्राप्त एम्बुलेन्सलाई कमाइ खाने भाँडो बनाउँदै आएका छन्। राजस्व छुट वा सहयोगमा प्राप्त एम्बुलेन्सलाई मासिक रूपमा आम्दानी हुने गरी भाडामा पनि लगाइएको छ।
यसरी भन्सार छुटमा लिइएका एम्बुलेन्स तोकिएको ठाउँभन्दा बाहिर चलाउन नपाइने नियम छ। राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ मा यसबारे स्पष्ट उल्लेख छ। तर सर्लाहीलगायत विभिन्न जिल्लाबाट बिक्री भएर त्यस्ता एम्बुलेन्सहरू धनुषा पुगेका केही प्रमाणहरू फेला परेका छन्।
प्राप्त सूचनाअनुसार लालबन्दी हेल्थ केयरको प्र-२-०२-००१च-०६८८ नम्बरको एम्बुलेन्स जनकपुर पुगेको छ। जसको खरिदकर्ता अरुन कापर हुन्।
यसैगरी मलंगवामा रहेको द सहारा कोअपरेटिभको ना २ च २४५० नम्बरको एम्बुलेन्स पनि बिक्री भइसकेको छ। उक्त एम्बुलेन्सको खरिदकर्ता सुरेश ठाकुर हुन्।
मुस्लिम समाज मलंगवाको एम्बुलेन्स पनि बिक्री भएको छ। प्र २-०२-००१च-०९३३ नम्बरको समाजको एम्बुलेन्स मनोज यादवले खरिद गरेका हुन्।
लालबन्दीमा रहेको उज्यालो नेपालको एम्बुलेन्स पनि बिक्री भएको पाइएको छ। प्र २-०२-००१च-०७६१ नम्बरको एम्बुलेन्स रामकुमार महतोले खरिद गरेर लगेको भेटिएको छ।
सम्बन्धित निकायले अनुगमन तथा कारबाही चलाउन सक्रियता नदेखाएका कारण सर्लाहीमा विभिन्न संघसंस्थाले राजस्व छुट तथा भारतीय दूतावासलगायत अन्य निकायबाट सहयोगमा पाएका एम्बुलेन्स व्यक्तिगत कमाइका लागि बेच्ने र ठेक्कामा लगाउने गरेको एक चालकले सर्लाही न्युजलाई बताए।
उनका अनुसार अधिकांश एम्बुलेन्सको हालत नै यही छ। यसलाई धेरैले चाँडै पैसा कमाउने धन्दा नै बनाएका उनको भनाइ छ।
अत्यावश्यक सेवा क्षेत्र मानिएको एम्बुलेन्स, शववाहन विना कुनै रोकतोक निर्बाध चलिरहन्छन्। अरू साधन सञ्चालनका लागि चर्को मूल्य तिर्नुपर्ने भए पनि शववाहन र एम्बुलेन्सका लागि भने १ प्रतिशत मात्र भन्सार शुल्क लाग्ने गर्छ। निषेधाज्ञा तथा कुनै पनि बन्द र हडतालमा समेत विनारोकतोक एम्बुलेन्स सञ्चालन हुन पाउँछन्।
अत्यावश्यक सेवा क्षेत्र भएकाले नियमनकारी निकाय पनि सक्रिय रूपमा जाँचमा लाग्दैनन्। यसै कारण पनि विभिन्न व्यक्तिहरूले परिवार र आफन्त मिलेर संस्था दर्ता गरी एम्बुलेन्स चलाएर पैसा कमाउने काममा लागेका छन्।
सेवाको नाममा भन्सार छुट भएर लाखौँ रकम छुट भई नेपाल भित्र्याइएका केही एम्बुलेन्सलाई भने सम्बन्धित संस्थाले व्यापारमा लगाएको प्रमाण भेटिन थालेको छ।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार यसरी राजस्व छुटप्राप्त एम्बुलेन्स अन्यत्र चलाउन पाइने नियम छैन।
भन्सार छुट भएर आउने एम्बुलेन्स र शववाहन सवारी १५ देखि १८ लाख रुपैयाँसम्ममा ‘सेकेण्ड ह्यान्ड’मा बिक्री हुने गरेको एम्बुलेन्स चालकहरू नै बताउँछन्। नियमनकारी निकायकै बेवास्ताका कारण सेवाका रूपमा प्रयोग हुनुपर्ने एम्बुलेन्स बिक्री भई अन्य कार्यमा प्रयोग भइरहेका छन्।
भन्सार छुटबाट प्राप्त ल्याइएका एम्बुलेन्सको उपयोग ठीक तरिकाले भएको नभएको अनुगमन नहुँदा पनि विकृति मौलाइरहेको छ। गएको मंसिर २० गते बीपी राजमार्गमा पर्ने काभ्रेको रोशीबाट प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एम्बुलेन्स चालकलाई पक्राउ गरेको थियो।
महोत्तरीको बर्दिबासबाट बिरामी लिएर काठमाडौँ आउँदै गरेको अवस्थामा ज १ च १९०८ नम्बरको उक्त एम्बुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको थियो। उक्त एम्बुलेन्स पनि नियमविपरीत बिक्री गरी खरिद गरेर प्रयोगका लागि ल्याइएको स्थानभन्दा अन्यत्र चलाइएको पाइएको थियो।
यसरी भन्सार छुट गराएर सर्लाही जिल्लाका लागि भित्र्याइएका एम्बुलेन्सहरू सम्बन्धित संस्थाले अन्यत्र बिक्री गरेको पाइएपछि हामीले एम्बुलेन्स खरिद गर्ने केहीलाई सम्पर्क गरेका थियौँ।
सोधपुछका क्रममा लालबन्दी हेल्थ केयरले भन्सार छुटमा खरिद गरेको एम्बुलेन्स धनुषा जिल्लाका एक जनालाई बिक्री गरेको पाइएको हो। जनकपुरधामका अरुण कापरपले उक्त एम्बुलेन्स चलाइरहेका छन्।
कापरलाई हामीले सर्लाहीबाट जनकपुर लगेर एम्बुलेन्स चलाउन पाइन्छ त? भनी सोधेका थियौँ। उनले भने, ‘हामीले नामसारी गरेर चलाएका हौँ।’ उनले सर्लाही हेल्थ केयरबाट १३ लाखमा एम्बुलेन्स खरिद गरेको स्वीकार गरे। र एक जिल्लाबाट अर्कोमा चलाउन पाइने दाबीसमेत गरे। उनले उक्त एम्बुलेन्स केही महिनाअघि मात्र किनेको बताए।
त्यस्तै द सहारा कोअपरेटिभको एम्बुलेन्स पनि बिक्री भई जनकपुरधाम पुगेको छ। सुरेश ठाकुरले खरिद गरेको उक्त एम्बुलेन्स अहिले जनकपुधाममै चल्ने गर्छ।
‘भानुचोकमा संस्था भएका कारण हामीले चलाएको हो,’ ठाकुरले सर्लाही न्युज लाई भने, ‘सहाराको शाखा संस्था जनकपुरमा पनि छ, त्यसैले चलाएको हो।’ एक ठाउँका लागि भनी खरिद गरेर ल्याएको एम्बुलेन्स अर्को ठाउँ चलाउन नपाउने बताएका उनले भने, ‘अरू जिल्लाको ल्याउँदा परेशान गर्छ। शाखा संस्था नभएपछि चलाउन पाउँदैन।’
आफूहरूले कानुनसम्मत ल्याएले चलाउन पाएको उनको भनाइ छ। साथै आफूले जनकपुरधाममा कोशी, गण्डकी र बागमती प्रदेशका एम्बुलेन्स पनि निर्बाध यता (जनकपुर) तिर चलिरहेका बताए।
त्यस्तै सर्लाहीमै रहेको मुस्लिम समाजको एम्बुलेन्स पनि धनुषा जिल्ला पुगेको छ। मनोज यादवले उक्त एम्बुलेन्स चलाइरहेका छन्।
सुरुमा धनुषामा रहेर एम्बुलेन्स चलाएको बताए पनि पछि हामीले उनलाई गैरकानुनी रूपमा किन चलाउनुभएको भनी सोधेका थियौँ। त्यसपछि उनले कुरा फेर्दै भने, ‘म टिप लिएर आएको छु। म सर्लाहीमै एम्बुलेन्स चलाउँछु।’
थप प्रश्न गर्न नपाउँदै उनले अनकनाउँदै भने, ‘तपाईंले गलत नम्बरमा फोन गर्नुभएको छ।’
के भन्छ सर्लाही प्रशासन?
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार यसरी राजस्व छुटप्राप्त एम्बुलेन्स अन्यत्र चलाउन पाइने नियम छैन। ‘जुन ठाउँका लागि ल्याइएको हो त्यहीँ चलाउनुपर्छ। अन्यत्र चलाउन मिल्दैन,’ घिमिरेले भने।
एम्बुलेन्स जुन संस्थाले जुन प्रयोजनका लागि ल्याएको हो, त्यसअनुसार मात्र चलाउनुपर्ने उनको भनाइ थियो। साथै उनले यस्ता घटनाबारे आफूहरूलाई उजुरी र जानकारी नआएको समेत बताए। घिमिरेले आफूभन्दा पनि यसबारे यातायात कार्यालयसँग बुझ्न आग्रह गरे।
यातायात भन्छ- राजश्व छुटको एम्बुलेन्स कुनै हालतमा बिक्री गर्न पाइँदैन
संस्थाले राजश्व छुटमा प्राप्त गरेको एम्बुलेन्स कुनै हालतमा पनि बिक्री गर्न नपाइने यातायात कार्यालय मलंगवाका प्रमुख शशीप्रकाश यादव बताउँछन्।
‘कृषि सामग्री (ट्याक्टर) भने ५ वर्षपछि बिक्री गर्न पाइन्छ। तर एम्बुलेन्सको हकमा यस्तो व्यवस्था छैन,’ प्रमुख यादवले भने, राजश्व छुट गराएर ल्याइएको एम्बुलेन्सले कर तिर्नुपर्दैन। नवीकरण गरे पुग्छ।’
एम्बुलेन्स नामसारी गरेर पनि अर्कैले चलाएको विवरण हामीले दिएपछि त्यसो गर्न नमिल्ने उनको भनाइ छ। ‘कागज गरे होलान्, नामसारी पाइँदैन। सञ्चालनका क्रममा अस्पतालअनुसार अत्यावश्यक कामका लागि जता पनि दौडाउन पाइयो, तर कानुनअनुसार बिक्री गर्न भने पाइँदैन।’ राजश्व छुटप्राप्त एम्बुलेन्सको मूल्य निर्धारण नहुने हुँदा बिक्री हुने सवालै नहुने उनले बताए।
यस्ता घटनाबारे उजुरी नआएको पनि उनको भनाइ छ।