
लालबन्दी – राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नवनियुक्त सर्लाहीका कमलबहादुर भट्टराईले पद तथा गोपनियताको सपथ लिएका छन्।
सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा उनीसँगै आठ जना बोर्ड सदस्यहरूले सपथ लिएका हुन्। उनीहरूलाई खेलकुदमन्त्री तेजुलाल चौधरीले सपथ ग्रहण गराएका थिए।
सपथ ग्रहण लिने भट्टराई सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर १७ निवासी हुन्। त्यस्तै अन्यहरूमा शान्तकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) छन्।
खेलकुद मन्त्री चौधरीले राखेपमा नियुक्त भएका सबै सदस्यहरूलाई बधाई दिँदै आफनो चार वर्षे कार्यकालमा उत्कृष्ट काम गर्न आग्रह गरे।
यही पुस ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले राखेपमा रिक्त रहेका बोर्ड सदस्यमा आठ जनालाई नियुक्त गरेको थियो। जसमा भट्टराई पनि एक हुन्।