काठमाडौँ – सर्लाहीसहित देशभरका सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा भएको छ।
गृहमन्त्रालयले आज गरेको निर्णयअनुसार सर्लाहीमा तुलसीबहादुर श्रेष्ठ नयाँ सिडिओका रूपमा आउने भएका हुन्। यसअघिका गोपालकुमार अधिकारीलाई भने झापाको सिडिओ बनाएर पठाइएको छ।
२०८१ जेठ २५ गते सर्लाहीमा हाजिर हुन आएका अधिकारीलाई सरकारले एक वर्ष नपुग्दै सर्लाहीबाट बिदा गरेको हो।
पछिल्ला केही दिनयता जिल्लाभित्र चलेका अवैध क्रसर उद्योगविरुद्ध खरो रूपमा उत्रिएका अधिकारीको सरुवा नियमित प्रक्रियाअन्तर्गत भएको मन्त्रालयले बताएको छ।
मापदण्डविपरीत चलेका क्रसर उद्योगका सञ्चालकहरूको लामो समय काठमाडौँआउजाऊले पनि सर्लाहीमा अधिकारीलाई हटाउने चलखेल भएको हुन सक्ने सर्लाही जिल्लाका एक माओवादी नेताले बताए।
जिल्लाका बरहथवा, बागमती, बसबरिया, लालबन्दी र ईश्वरपुरलगायत स्थानमा अवैध रूपमा सञ्चालित क्रसर उद्योगलाई बन्द गराएर अधिकारी चर्चामा आएका थिए। बन्द भएका प्रायः क्रसर उद्योगहरूका सञ्चालक स्थानीय पहुँचवाला नेता र पूर्वसांसदहरू नै थिए। उनीहरूकै जोडबलमा सर्लाहीमा समयअगावै सिडिओ परिवर्तन भएको हुन सक्ने ती नेताले सर्लाही न्युजसँग बताए।
सरकारले आजै काठमाडौँको सिडिओमा भने ऋषिराम तिवारीलाई ल्याइएको छ। तिवारी यसअघि गृह मन्त्रालयमा कार्यरत थिए।
काठमाडौँमा कार्यरत जयनारायण आचार्यलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।
यस्तै सुनसरीमा धर्मेन्द्र कुमार मिश्र, कैलालीमा गोगन बहादुर हमाल, मोरङमा इन्द्रदेव यादव र सल्यानमा सवित्रा पुनलाई सरुवा गरिएको छ।
सुनसरीमा कार्यरत सिडिओ रामचन्द्र तिवारीलाई गृह मन्त्रालयमा ल्याइएको छ।
मोरङका सिडिओ प्रेम प्रसाद भट्टराई, झापामा कार्यरत बन्धुप्रसाद बास्तोला र सल्यानका शम्भु प्रसाद रेग्मीलाई गृह मन्त्रालयमा ल्याइएको छ।