मिथिलामा तिलासक्रायत पर्वको तयारी

महोत्तरी : मिथिला क्षेत्रमा पुसको छिप्पिँदो जाडोसँगै तिलासक्रायत पर्वको तयारी सुरु भएको छ। घरघरमा तिलासक्रायत पर्वका लागि सामग्रीको जोहो र पकाउने, तुल्याउने तयारीले अहिले चहलपहल बढेको हो।

अहिले मिथिलावासीहरु पर्वको पूर्वतयारीमा जुटेका छन्। सौरमास गणनाले माघ लाग्ने सङ्क्रान्तिका दिन मनाइने यो पर्वका लागि आवश्यक सामग्री केही दिन पहिलेदेखि नै तयारी गर्नुपर्दा मिथिलानी (मिथिलाका नारी) लाई भ्याइनभ्याइ छ। यसपालि यो पर्व आगामी मङ्गलबार परेको छ।

मुरीको धान निफन्नु, उसिन्नु, सुकाउनु, कुटेर चामल बनाउनु र मुरी भुट्नु अहिले गृहणीका काम हुन्। मुरीका लागि बनाइने चामलका लागि धान विशेष ढङ्गले उसिन्ने चलन छ। यसैगरी चिउराका लागि धान निफन्ने, भिजाउने र चिउरा कुट्ने कामको पनि चटारो छ। तिल निफन्ने, फल्ने (छाँट्ने, भिजाएर बाहिरी कत्ला फाल्ने), सुकाएर राख्ने, सक्खरको जोहो गर्ने र सङ्क्रान्तिअघि नै मुरी, चिउरा, जुनेलो बनाइसक्नुपर्ने चटारोले छोप्दा भ्याइनभ्याइ भएको भङ्गाहा–४ थारुटोल वनराकी ७५ वर्षीया रामसुनर देवी थारूले बताइन्।

‘पवनीले छोपिसक्यो, काम असरल्ल नै छन्’, उनले भनिन्, ‘चिउरा कुट्न र मुरी भुट्न बाँकी नै छ, शनिबारयता मौसम सफा हुँदा अब सबै काम छिनिन्छ भन्ने लागेको थियो, हिजोदेखि फेरि हुस्सु बढ्नाले पीर लागेको छ।’ तिलासक्रायत मिथिलाका सबै जाति समुदायले उल्लासले मनाउने भए पनि थारूहरूको भने यो मुख्य पर्व नै हुँदा यहाँका थारू बस्तीमा विशेष चहलपहल देखिँदो छ। थारूहरू यस पर्वमा गच्छेअनुसार माछामासुका परिकार बनाउँछन्।

मिथिलामा थारूबाहेक अन्य जाति समुदायमा पर्व मनाइसकेपछि छोरीचेली, मितमितिनी र नजिकी इष्टमित्रकहाँ सक्रायतको सनेस (कोसेली) लैजाने चलन छ। तर थारू समुदायमा यो पर्वमा छोरीचेली, ज्वाइँ, भाञ्जाभाञ्जी र नातिनातिना (छोरीका छोराछोरी) लाई पर्वअघि नै बोलाउने चलन छ।

तिलासक्रायतमा घरकरेसामा लगाइएको तरुल, पिँडालु र सुठुनीलगायत कन्दमूलले राम्रो मूल्य पाउने आसमा किसान छन्। ‘यी उत्पादन सङ्क्रान्तिको दुई दिनअघिदेखि बिक्छन्, त्यसैले भोलिपछि खन्न थाल्दा हुन्छ’, बर्दिवास–९ का किसान महेन्द्रसिंह महतोले भने। यसपालि बर्खाकालको अनुकूल वर्षाले माटोको चिस्यान नमर्दा कन्दमूल राम्रो उत्पादन भएको किसान बताउँछन्।

यहाँ सिमल तरुलभन्दा लहरे तरुल अझ बढी लगाइन्छ।

सम्बन्धित समाचार

सबै