हरिवनका २२ वर्षीय राजेन्द्र महतोको जीवनमा फर्किएको खुशी

हरिवन : विद्युतीय धरापमा परेर खुट्टा गुमाएका सर्लाहीको हरिवन नगरपालिका–५ किङरिङ टोलका २२ वर्षीय राजेन्द्र महतोले विद्युतीय तीन पाङग्रे सवारी साधन (अटोरिक्सा) चलाएर जीवनमा पुन खुशी फर्काएका छन् ।

विसं २०७७ वैशाख १८ गते दुर्घटनामा परेर बायाँ खुट्टा गुमाएपछि उनलाई अब बाँकी जीवन सकियो भन्ने चिन्ता लागेको थियो । तर, त्यही दुर्घटनापछि जीवनमा एकपछि अर्को गर्दै खुशी आएको उनले सुनाए।

चार वर्ष पहिला विद्युतीय दुर्घटनामा परेका राजेन्द्रको बायाँ खुट्टा घुँडामाथिसम्म काटिएको छ )। केही समयसम्म वैशाखीको सहारा लिएका उनी अहिले कृत्रिम खुट्टाको सहारामा आफ्नो दैनिकी चलाइ रहेका छन् )। कृत्रिम खुट्टाको सहाराले उनलाइ सामान्य काम गर्न र हिँड्डुुल गर्न सहज मात्र भएको छैन्। विगत दुई वर्षदेखि अटोरिक्सा चलाएर मनग्य कमाइ गरिरहेका छन्।

“दुर्घटनामा खुट्टा गुमाएपछि आफ्नै जीवन अभिसाप हुने भयो भन्ने लागेको थियो”, उनले भने “परिवारको सहारा र वडाले दिएको अटोरिक्सो फेरि परिवारको मेरुदण्ड बनेको छु । अटोरिक्सा चलाउन सुरु गरेको आउने फागुनमा दुई वर्ष पुग्दै छ । यसको कमाइबाटै ठूलो प्रगति गरेको उहाँले जानकारी दिए।” अटोरिक्सा चलाएर कमाएको १६ लाख रुपैयाँले एउटा पक्की घर बनाएको उनले बताए।

एउटा अटोरिक्साले मात्र नभ्याउने भएपछि पालैपालो चार्ज गरेर चलाउन भनेर तीन महिना पहिला मात्र उनले अर्को मयुरी किनेका छन् । अटोरिक्साकै कमाइबाट चार लाख ५० हजार रुपैयाँ खर्च गरेर नयाँ मयुरी थपेको राजेन्द्रले जानकारी दिए । कृत्रिम खुट्टा हाल्न बेचेको खेतकै सिमानामा एक कठ्ठा घडेरी जोडिसकेको राजेन्द्रको भनाइ छ । बिहानैदेखि साँझसम्म आवश्यक पर्दा रात दिन नभनी अटोरिक्सा चलाउने उनले दैनिक सात ७ हजार रुपैयाँसम्म कमाएको बताए।

थोरै कमाइ हुँदा दैनिक दुई हजार पाँच सय रुपैयाँसम्म आम्दानी गरेको उनी बताउँछन् । खर्च कटाएर कम्तीमा महिनाको ६० हजार रुपैयाँको दरले घरकै खाएर परिवारसँगै बसेर वर्षमा सात लाख बढी कमाइ रहेको उनले सुनाए । बजारको दिन त भ्याइनभ्याई हुने गरेको उनको अनुभव छ । राजेन्द्रले काकालाई मयुरी चलाउने पेसामा ल्याएका छन् ।

आफूले अटोरिक्सा चलाउन सुरु गरे यता गाउँमा पाँच वटा मयुरी थपिएको उनले बताए । निकै न्यून आयस्तर भएका राजेन्द्रको उपचारमा २२ लाख रुपैयाँभन्दा धेरै खर्च लागेको बुवा सन्तलाल महतोले जानकारी दिए ।

२०६० सालमा चिरान मिलले बुवा सन्तलालको हात काटिएपछि घरपरिवारको पालनपोषणको जिम्मा राजेन्द्रको काँधमा आयो । दुई भाइ र एक बहिनी मध्यका जेठा उनले एक निजी दूध डेरीमा काम गरेर घर खर्च धान्दै आएका थिए । उनी २०७६ सालमा विद्युतीय दुर्घटनामा परेपछि परिवारको विचल्ली भएको थियो ।

“सम्पत्तिको नाममा दुई कठ्ठा खेत र १० धुर घडेरीमा बनेको सानो घर बाहेक केही थिएन ।” सन्तलालले भने, “आफू पहिलेदेखि अपाङ्ग एक मात्र भरोसा जेठो छोराको त्यस्तो भएपछि हामी सडकमा आइपुगेका थियौँ । हारगुहार गरेर छोरा त बचाए । अब कसरी जीवन धान्ने भन्ने दिन आयो । केही नभएको देखेर वडाध्यक्ष नागेन्द्र साहले दिएका मयुरीले फेरि हाम्रो जीवन फर्किएको हो, उनले गहभरी आँसु बनाउँदै भने ।”

त्यो दुर्घटना, त्यसपछिका केही वर्ष फर्किएर सम्झँदा मन भक्कानिने गरेको राजेन्द्रकी आमा सुमित्रादेवी महतो बताउछिन् । “छोरा दुर्घटनामा परेपछि त मेरो लागि सारा धर्ती भासिए जस्तै भयो”, उनले भनिन् । छोराले मयुरी चलाउने हिम्मत गरेको र त्यो दुःखमा वडाले मयुरी दिएर लगाएको गुन जीवनभरि तिर्न नसकिने उनको भनाइ छ ।

“सुरुमा मैले अब पसल चलाउँछु, भनेर वडाध्यक्षसँग सहयोग मागेको थिए”, राजेन्द्रले भने, “वडाध्यक्षले पसलमा उधारो धेरै हुन्छ । लगानी धेरै चाहिन्छ । त्यसो नगर मसँग एउटा उपाय छ । वडाबाट एउटा मयुरी अनुदान मिलाइ दिन्छु । तिमी मयुरी चलाउ भने । मैले दुई पाँच सय आम्दानी भयो भने परिवार पाल्न सक्छु भनेर हुन्छ भनिदिए।”

विसं २०७९ फागुनमा वडा कार्यालयले राजेन्द्रलाई एक थान विद्युतीय मयूरी दियो । त्यस यता राजेन्द्रले दुःखका दिनलाई फेरि फर्किएर हेर्नुपरेको त छैन नै केही गर्नसक्छु भन्ने हिम्मत बढाएका छन् । अटोरिक्साको आम्दानीले बहिनीको विवाह गर्दा लागेको पाँच लाख रुपैयाँ ऋण तिरेको उनले बताए ।

अटोरिक्सा लिएर राजेन्द्र महोत्तरीको बर्दिवास, रौतहटको चन्द्रपुर, बरहथवा, जिल्ला सदरमुकाम मलङ्गवासम्म पुग्छन् । तर, उनी अधिकांश समय गाउँबाट दुई तीन किलो मिटरको दुरीमा रहेको हरिवन बजार ओहोरदोहोर गर्ने यात्रुहरूलाई सेवा दिन्छन् । सरल र मिलनसार उनको अटोरिक्सामा स्थानीय ढुक्क भएर यात्रा गर्छन । आज भोलि बिहान सबेरैदेखि साँझ अबेरसम्म यात्रुलाई गन्तव्यसम्म पु¥याउनु राजेन्द्रको नियमित कर्म बनेको छ ।

दुर्घटनामा खुट्टा गुमाएपछि कसरी परिवार पालौँला भन्ने चिन्तामा रहेका राजेन्द्र वडाबाट पाएको अटोरिक्सा चलाउन थालेपछि फेरि परिवारको दरिलो आड बनेर उभिएका छन् ।

सवारीचालक अनुमतिपत्र नपाएको गुनासो

सामान्य मानिसले जस्तै आफूले मयुरी सजिलै चलाउन सक्ने भए पनि अनुमति पत्र नपाएको राजेन्द्रको गुनासो छ । उनी जिप, कार चलाउन अनुभवी र अनुमतिपत्र प्राप्त चालक हुन् ।

दुर्घटनापछि ठूलो सवारी चलाउ छाडेको उनले बताए । मयुरीको सबै नियन्त्रण हातमा हुने र दायाँ खुट्टा राम्रो भएकाले काम गर्न कुनै समस्या नभएको उनी बताउँछन् । त्यति हुँदाहुँदै यातायात व्यवस्था विभागले आफूहरू जस्ताको लागि चालक अनुमतिपत्र दिनेसम्बन्धी व्यवस्था नभएको भन्दै फर्काएको उनको दुखेसो छ ।

विदेशमा कम्मर तल नचल्ने व्यक्तिहरूले सबै नियन्त्रण हातमा राखेर गाडी चलाउने अनुमति पाउँछन् ।” यहाँ पनि त्यस्तै व्यवस्था हुनुपर्ने उनको माग छ । यो सोख भन्दा पनि रोजी रोटी सँग जोडिएको विषय भएकोले सरकारले यता ध्यान दिनुपर्ने उनी बताउँछन् ।यसरी शारीरिक रुपमा सामान्य क्षति पुगेका अपाङ्गता भएकाहरू सयौँले क्षमता र हिम्मत हुँदाहुँदै श्रम गरेर खान नपाएको उनको भनाई थियो ।

हरिवन–५ का वडाध्यक्ष नागेन्द्र साहले राजेन्द्रलाई अटोरिक्सा सहयोग गरेर आफूले स्थानीय जनप्रतिनिधिको भूमिका निर्वाह गरेको बताए। आर्थिक रुपमा निकै विपन्न परिवारमा एकपछि अर्को बज्रपात परेको र त्यसबाट एक परिवार नै धारासायी बनेपछि वडाले जीविकोपार्जन कार्यक्रम अन्तर्गत मयुरी किनेर दिएको उनको भनाइ थियो।

“घरमुली बुवाको बायाँ हात काटिएको छ।” उनले भने, “त्यस पछि घरको सबै अभिभारा सम्हालेका छोरा राजेन्द्रको पनि खुट्टा गुमेपछि त्यो परिवारमा कस्तो अवस्था भयो होला ? एउटै वडावासी भएको नाताले मैले महसुस गरेको छु । युवा मान्छे केही गर्नुपर्‍यो भन्ने हिम्मत लिएर सहयोग माग्न आए । मैले नै वडाबाट निःशुल्क अटोरिक्सा उपलब्ध गराई दिए । अहिले प्रगति नै प्रगति भएको छ । हामी निकै खुसी छौँ ।”

वडा कार्यालयले हरेक वर्ष यस्ता विपन्न परिवार छानेर आवास र स्वरोजगारीको लागि विभिन्न सहयोग गर्ने गरेको बडा अध्यक्ष साहले बताए ।

सम्बन्धित समाचार

सबै