
लालबन्दी : लालबन्दी नगरपालिका–१२ डप्कालीका देवराज पौडेल सानै उमेरमा परिवारलाई खुसी दिन वैदेशिक रोजगारी गए। खुसी दिन त टाढाको कुरा रोजगारीका क्रममा दुर्घटनामा परेर आधा शरीर नचल्ने भएर स्वदेश फर्किन बाध्य भए। उनी तीन वर्षदेखि ह्वीलचियरको सहारामा छन्।
घरका एकमात्र सहारा उनको दुर्घटनापछि परिवारको बिचल्ली भएको छ। २०७७ साल ७ माघमा उनी वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया गएका थिए। २०७८ पुस २९ को राति कामबाट फर्किएपछि उनी साथीसँगै बजार गएका थिए।
बजारबाट फर्कने क्रममा आफैले चलाएको गाडी दुर्घटनामा परेपछि उनको जीवनले नसोचेको मोड लियो। नेपालमा हुँदा पनि सवारीचालकको काम गरेका उनले विभिन्न निर्माण कम्पनीका टिपर, स्कुल बस चलाएका थिए। त्यसबाट घरपरिवारको गुजारा चलाउन समस्या भएपछि परिवारको सल्लाहमा उनी साउदी पुगेका थिए।
‘विदेशको ठाउँ काम गरुन्जेलमात्र हुँदोरहेछ’, उनले भने, ‘तर दुर्घटनापछि कम्पनीले पनि लापरवाही गरेका कारण मेरो यो अवस्था भयो।’ राति १ बजे दुर्घटनामा परेका उनलाई प्रहरीले तत्काल अस्पताल पुर्याएको थियो। छ घण्टापछि मात्र होस आयो। बिहान अस्पतालको बेडमा थिएँ, उनले भने, ‘शरीर अररो परेको थियो। हातले पानीको गिलाससमेत नसमाएपछि एक जना नेपाली नर्सले पानी खुवाइदिनुभयो।’
उनको गर्दनमा शल्यक्रिया गरेर स्टिल राखिएको छ। उनलाई सुरुमा दुर्घटनामा परेर शरीरमा समस्या भयो, पछि ठिक हुन्छ भन्ने लागेको थियो। तर पछि चिकित्सकले गर्दनको हड्डी भाँचिएको र एउटा नसामा चोट लागेकाले शरीर पहिलाजस्तो नहुन सक्छ भनेपछि छाँगाबाट खसेजस्तै भएको उनी बताउँछन्। ‘दुई वर्षकी छोरी छाडेर परिवारको खुसी कमाउन गएको थिएँ’ अब बाँकी जीवन अरुको सहारामा गुजार्नुपर्ने भएर आएँ’, उनले भने।
सुरुमा त अब बाँकी जीवन के हुने ? भन्ने चिन्ताले धेरै सतायो। धेरै रात भोक न निद्रा भएर बिताए। विदेशमा हुँदा सारा एक्लोझैँ भयो। घर आएपछि श्रीमती र छोरीको अनुहारले निकै समय लखेटिरह्यो। अहिले आफूलाई सम्हाल्ने प्रयास गरिरहेको उनी बताउँछन्। विगतका दिन सम्झँदा उनका गला घरीघरी अवरुद्ध हुन खोज्दै थिए। अझै पनि शरीरको अवस्थाअनुसारको कर्म गरेर बाँकी जीवन पनि परिवारको सहारा बन्ने उनको ठूलो धोको छ।
सुरुमा कम्पनीले उपचारमा केही चासो देखाएजसो गरे पनि पछि वास्ता गर्न छाडेको उनको भनाइ छ। ‘नौ महिनासम्म कम्पनीले बेवारिस अवस्थामा अस्पतालमा छाड्यो, शरीर चल्दैन थियो। अरुले ओल्टाइपल्टाइ गर्नुपर्ने अवस्था थियो। नर्सहरू दिनमा एक वा दुई पटकमात्र आउने गर्थे। औषधि दिएर जान्थे। खाना ल्याएर राखिदिन्थे। हातसमेत नचलेर खान सक्दिनँ थिएँ। कोही आउने आशमा बस्नुपर्यो’, उनले भने।
कम्पनीले वास्ता गर्न छाडेपछि, औषधि नगर्ने भए मलाई घर पठाइदेऊ भनेर कम्पनीमा भने, तर कम्पनीले वास्ता गरेन। हारगुहार गरेपछि युकेमा रहेका भान्जाको प्रयासमा दूतावासका कर्मचारीले कम्पनीलाई ताकेता गरे। त्यसपछि कम्पनीले अस्पतालबाट निकालेर १५ दिनपछि नेपाल पठाइदियो। सुरुमा आफूले साउदीस्थित नेपाली दूतावासमा धेरैपटक अनुनयविनय गर्दा पनि वास्ता नगरेको उनको दुखेसो छ।
उनलाई समयमै अस्पतालबाट उद्धार गरेको भए शरीर केही भाग चल्थ्यो कि भन्ने चिन्ताले अहिले पनि सताइरहन्छ। बिरानो देशमा अस्पतालमा काटेको नौ महिना एक युगजस्तो लागेको उनको अनुभव छ।
नेपाल आएपछि परिवारले उनलाई सीधै अर्थोपेडिक अस्पताल जोरपाटी काठमाडौँ पुर्यायो। त्यहाँ तीन महिना बसेर उपचार गर्दा पनि कुनै सुधार नभएपछि घर आएको उनको भनाइ छ। अस्पतालमा गर्ने गरेका केही कसरत उनी घरमा पनि नियमित गरिरहेका छन्।
आफू आधा शरीर नचल्ने भएर अरूको सहारामा उठ्न बस्न पर्ने अवस्थामा पुगेपछि एउटा छोरीको पढाइ र परिवारको गुजारामा पनि समस्या भएको उनको दुःखेसो छ। ‘सम्पत्तिका नाममा पुर्ख्यौली ६ कट्ठा खेत र साढे आठ धुर घडेरी पाएको थिएँ’, उनले भने, ‘बिमाबाट आएको पैसाबाट बास बस्ने समस्या भएपछि एकतले काठको घर बनाएँ। खेतको उत्पादनले मुस्किलले आधा वर्ष खान पुग्छ। छोरीको पठनपाठन, केही उपचार खर्च कसरी जोहो गर्नु ?’
श्रीमती एक्लैले गरेको कामबाट परिवारलाई हातमुख जोर्न सधैँ समस्या भएको भन्दै उनले आफूले सकेको काम गरेर परिवारलाई सघाउने चाहना रहेको बताउँछन्। ‘शारीरिक रूपमा अशक्त व्यक्तिहरूले क्षमताअनुसार काम गरेर परिवारलाई सहयोग गरेको देखेसुनेको छु’, उनले भने, ‘मलाई पनि केही गर्ने चाहना छ। आफूसँग लगानी छैन। कसैले कतैबाट सहयोग गरिदिए समाजको उदाहरणीय पात्र बन्ने थिएँ।’
पौडेलले वैदेशिक रोजगार विभागबाट पाउने छात्रवृत्ति पनि नपाएको गुनासो गरे। वैदेशिक रोजगारमा अंगभंग भएका वा ज्यान गुमाएकाका बालबालिकाले उच्च शिक्षासम्म पठनपाठनका लागि छात्रवृत्ति पाउने व्यवस्था भए पनि आफूले नपाएको उनले बताए। ‘छात्रवृत्ति पाइन्छ भन्ने थाहा पाएपछि कागजात लिएर गएको थिएँ’, उनले भने, ‘तपाईंको बिमावापतको रकम पूरा भएको छैन, पाउनुहुन्न भनेपछि फर्किएँ। त्यत्ति पाएको भए पनि छोरीको पठनपाठनका लागि थपथाप हुने थियो।’
पौडेलको आठ वर्षकी छोरी गाउँ नजिकैको एक विद्यालयमा बाल कक्षामा अध्ययन गर्छिन् भने श्रीमतीले आफू र छोरीको स्याहारपछि बाँकी समय पशुवस्तु र खेतीपाती गरेर दुई छाकको जोहो गरिरहेकी छन्। कक्षा ९ सम्म अध्ययन गर्नुभएकी सविना पौडेलले श्रीमान् शारीरिक रूपमा अशक्त भए पनि आफूले अवसर पाए छोरी र श्रीमानका लागि सहारा बनेर गुजार गर्ने वातावरण बन्ने बताइन्।
स्थानीय तहसँग आवश्यक सहयोगका लागि पटकपटक ताकेता गरेको उनले बताए। ‘मैले कार्यालय सहयोगीको कामका लागि फारम पनि भरे। खै के भयो काम भएन। कुनै व्यावसायिक तालिम र लगानी पाए काम गर्ने थिएँ,’ उनले भने। यसरी विभिन्न दुर्घटनामा परेर समस्यामा परेकालाई सहज जीवन गुजाराका लागि स्थानीय सरकारले केही व्यवस्था गर्नुपर्ने उनको माग छ।
उक्त वडाका अध्यक्ष दुर्गाबहादुर आलेले वडामा त्यस्तो कुनै बजेट नहुने बताए। यस्ता विपन्न नागरिकका लागि नगरपालिकाले नै आयआर्जनका कार्यक्रममा समेट्ने गरेको छ। ‘वडामा त्यस्तो योजना तथा बजेट हुँदैन’, उनले भने, ‘यस्तो अवस्थामा नगरले नै व्यवस्थापन गर्ने गरेको छ। मैले पनि उहाँहरूको समस्याका लागि पहल गरिरहेको छु। हेरौँ केही गर्न सकिन्छ कि ?’ प्रधानमन्त्री रोजगारी तथा अन्य सहयोगका लागि पनि सोचिरहेको उनले बताए।