काठमाडौँ : छठको गीत गाएर लोकप्रिय बनेकी दिवंगत भारतीय गायिका शारदा सिन्हालाई भारत सरकारले पद्म विभूषणबाट सम्मान गर्ने भएको छ।
भारतमा पद्मविभूषणलाई भारत रत्नपछि त्यहाँको सरकारले दिने दोस्रो सर्वोच्च सम्मान मानिन्छ। यो सम्मान यसअघि पनि मनोरञ्जन जगतका धेरै कलाकारलाई दिइएको छ।
सिन्हा बिहारको लोकगीत र बलिउड गायिकाका रूपमा पनि चिनिन्छ। उनको गएको छठ पूजाकै दिन निधन भएको थियो। उनको निधनपछि भारत सरकारले स्वर्गीय गायिकलाई पद्मविभूषणका लागि छनोट गरेको हो।
यसबाहेक भायोलिनवादक तथा संगीतकार डा. लक्ष्मीनारायण सुब्रमण्यमलाई पनि यस वर्ष पद्मविभूषण प्रदान गरिने भएको छ। गुजरातकी कलाकार कुमुदिनी रजनीकान्त लखियालाई पनि कलाको क्षेत्रमा योगदान गरेको भन्दै पद्मविभूषणका लागि छनोट गरिएको छ।
भारतको दक्षिण चलचित्र उद्योगका दिग्गज कलाकार नन्दमुरी बालकृष्ण र अजित कुमारलाई कला विधामा योगदान दिएवापत पद्मभूषणबाट सम्मानित गर्ने घोषणा गरिएको छ। यो भने देशको तेस्रो उच्च सम्मानमध्ये गनिन्छ।
यसमा अनन्त नाग, शेखर कपुर, जतिन गोस्वामी, स्वर्गीय गायक पंकज उदास र भारतीय अभिनेत्री तथा नर्तकी शोभना शोभनाजस्ता धेरै ठूला व्यक्तित्वहरूको नाम पनि समावेश छ।
त्यस्तै भारत सरकारले दिने चौथो ठूलो सम्मान पद्मश्री हो। यसपटक यो सम्मान बलिउड गायक अरिजित सिंहलाई प्रदान गरिने भारतीय सञ्चारमाध्यमले लेखेका छन्।
यीबाहेक यस पुरस्कारको सूचीमा मराठी अभिनेता अशोक लक्ष्मण सराफ, शास्त्रीय गायिका अश्विनी भिडे देशपांडे, थिएटर कलाकार ब्यारी जोन, बेगम बटूल, श्री भरत गुप्ता, श्री भेरु सिंह चौहान, श्री दुर्गाचरण रणवीर, श्री फारुक अहमद मीरजस्ता अन्य धेरै व्यक्तिहरूको नाम समावेश छ।