
काठमाडौँ – २०७४ सालको आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य जितेका पूर्वसांसद प्रमोद साहले पार्टी छाडेका छन्।
साहले बिहीबार बिहान एक विज्ञप्ति जारी गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरेको घोषणा गरेका हुन्।
विज्ञप्तिमा उनले आफू अब पार्टीको साधारणसदस्य समेत नरहेको उल्लेख गरेका छन्।
गएको असारमा प्रदेश राजधानी जनकपुरधाममा सम्पन्न पार्टीको महाधिवेशनमा पार्टीको सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका साहले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले निर्वाचन नै नगराई आफूखुसी पदाधिकारी नियुक्त गरेको र आफूले जिम्मेवारी नपाएको भन्दै असन्तुष्टि पनि पोखेका छन् ।
पदाधिकारी तथा कार्यकारिणी सदस्य नियुक्त गर्दा सर्लाही जिल्लालाई नसमेटिएको र जिल्लाका नेताहरूलाई जिम्मेवारी दिन केन्द्रीय अध्यक्ष, प्रदेश अध्यक्ष, इन्चार्जलगायतलाई बारम्बार भन्दा पनि सुनुवाइ नभएको साहले प्रेस विज्ञप्तिमा उल्लेख गरेका छन्।