‘जीबी राई समाउन नसक्ने सरकारले सर्लाहीका निरीह दम्पती समाएर बडो बहादुरी देखायो’

काठमाडौँ – सरकारले सहकारीको रकम अपलचन गरी फरार रहेका आरोपित जीबी राई समाउन छाडेर सर्लाहीमा अन्तर्जातीय बिहे गरेका दम्पतीमाथि भने ज्यादती गरेको सांसदहरूले आरोप लगाएका छन्।

बिहीबारको संसद्मा सांसदहरूले यस्तो आरोप लगाएका हुन्।

गृह प्रशासनकै निर्देशनमा अन्तरजातीय विवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम र नेहा चौधरीको जोडीमाथि प्रहरीबाटै ज्यादती भएको भन्दै सांसदहरूले गृहमन्त्रीको आलोचना गरेका हुन्।

जीबी राईजस्ता फरार अभियुक्तलाई पक्राउ गर्न नसक्ने प्रहरीले एउटा निरीह जोडीलाई पक्राउ गर्न विदेश गएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे।

सांसद रणेन्द्र बराइलीले भने, ‘जीबी राईजस्ता मान्छेलाई पक्राउ गर्न नसक्ने प्रशासन (गृह) ले निरीह दलित दम्पतीलाई पक्राउ गरेर बडो बहादुरी देखायो।’

प्रेमविवाह गरेर घुम्न गएका जोडीलाई पक्राउ गर्न मुम्बईसम्म प्रहरी पठाएकोमा समेत उनले आलोचना गरे।

जिल्ला अदालतमा विवाह दर्ता भइसकेको अवस्थामा बालविवाह, मानव बेचबिखन र लागुऔषधजस्ता झुटा मुद्दा लगाएर ज्यादती गर्ने काम भएको उनको भनाइ थियो।

यस्ता घटनामा पीडितलाई राज्यले नै संरक्षण गर्नुपर्नेमा उल्टो ज्यादती भएको भन्दै गृहमन्त्रीसँग सांसदहरूले जवाफसमेत मागेका थिए।

नयाँ पत्रिका दैनिकले केही दिनअघि सर्लाहीमा अन्तरजातीय जोडीमाथि गृह प्रशासनको ठाडो आदेशमा ज्यादती भएको समाचार लेखेको थियो। उक्त समाचारले बिहीबारको संसद् तातेको थियो।

सांसदहरूले आरोप लगाएपछि गृहमन्त्रीले भने आफूमाथि लगाइएको आरोप कपोकल्पित भएको र गम्भीर ध्यानाकर्षण भएको बताएका थिए।

आफू जातीय विभेद र छुवाछुतविरुद्ध रहेको भन्दै अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु आफ्नो आदर्शप्रतिको अवमूल्यन भएको लेखको भनाइ थियो ।

वैयक्तिक स्वतन्त्रता र मानव अधिकारको ग्यारेन्टीका लागि विद्यार्थीकालदेखि नै लड्दै आएको भन्दै उनले अन्तरजातीय विवाहलाई कानूनले नै मान्यता दिएको र कानून अक्षरसस् पालना गराउनु आफ्नो कर्त्वय रहेको धारणा राखे ।

उक्त घटनामा आफ्नो धारणा यसअघि नै स्पष्ट पारेको र प्रहरीलाई निर्देशन दिएअनुसार प्रतिवेदन सार्वजनिक गरिसकेको भन्दै लेखकले सत्यन्द्रकुमार र नेहाको पूर्ण रूपमा सुरक्षाको प्रत्याभूत गरिने र कही त्रुटि देखिए छानबिन र कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए।

 

सम्बन्धित समाचार

सबै