
सर्लाही : स्थानीय तहमा वरिष्ठ कर्मचारी हुदाँहुँदै पनि कनिष्ठ कर्मचारीलाई निमित्त प्रमुख प्रशाकसीय अधिकृतको जिम्मेवारी दिइएका सर्लाहीको विष्णु गाउँपालिकाका एकसहित १६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाइएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार १६ स्थानीय तहका कनिष्ठ निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार खोसेर जिम्मेवारीबाट हटाएको हो।
यस निर्णयसँगै, कानूनविपरीत प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएका नेपाल स्वास्थ्य सेवा, शिक्षा सेवा तथा स्थानीय प्रशासन सेवाका कनिष्ठ अधिकृतको जिम्मेवारीसमेत खोसिएको मन्त्रालयले जनाएको छ।
यसअघि पनि मन्त्रालयले १० नगरपालिका र १३ गाउँपालिकामा कनिष्ठ भएर पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका कर्मचारीलाई जिम्मेवारीबाट हटाएको थियो।
अझै पनि कतिपय स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतकै जिम्मेवारी सम्हाल्दै आएका छन्। ती पालिकामा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर कर्मचारी पठाए पनि स्थानीय जनप्रतिनिधिले हाजिर नगराएर फिर्ता पठाउने गरेका छन्।