
लालबन्दी : सर्लाहीमा बुहारीको हत्या गरेका आरोपमा जेठाजू पक्राउ परेका छन् ।
जिल्लाको सीमावर्ती विष्णु गाउँपालिका वडा नम्बर ३ स्थित मधुवनगठमा ४० वर्षीय साहेब पासवानले बुहारी ३६ वर्षीय रेनुदेवी पासवानलाई आइतबार धारिलो हतियार प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको हो । सर्लाही जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहान पौने १० बजे साहेबले फर्साले हानेर बुहारीको हत्या गरेका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार साहेबले बुहारी रेनुदेवीलाई शरीरका विभिन्न भागमा १५ पटकभन्दा बढी फर्साले प्रहार गरेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा जेठाजु साहेबले बुहारी रेनुदेवीसँग खाना मागेका र सोही क्रममा विवाद भएपछि एक्कासि फर्सा निकालेर प्रहार गरेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक एसपी रवीन्द्रबहादुर सिंहले बताए ।
शनिबार झै–झगडा भएपछि साहेबकी श्रीमती र छोराछोरी भारतस्थित माइती घर गएको बुझिएको छ ।
शनिबारदेखि नै भोको रहेका साहेबले आइतबार बिहान खाना माग्न जाँदा विवाद भएपछि बुहारीमाथि नै धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ ।
घटनालगत्तै प्रहरीले साहेब पासवानलाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मधुवनगोठले तत्कालै नियन्त्रणमा लिएर साहेबलाई थप अनुसन्धान तथा कारबाहीका लागि सदरमुकाम मलंगवा लगेको छ ।
मृतक रेनुदेवीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ । मृतकका श्रीमान् रोजगारीका लागि भारतमा छन् ।