सर्लाहीमा जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा नदीजन्य पदार्थ दोहन

सर्लाही : सर्लाहीको लालबन्दी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीकै मिलेमतोमा नदीजन्य पदार्थको व्यापक दोहन भइरहेको पाइएको छ ।

लालबन्दी नगरपालिका अन्तर्गत पर्ने लखन्देही र कालिन्जोर खोलाबाट यतिखेर जनप्रतिनिध र कर्मचारीकै सेटिङमा खोला दोहन भइरहेको पाइएको हो । ठेकेदार कम्पनीले अटेर गरी मापदण्ड विपरीत मनपरी रुपमा नदीजन्य पदार्थको उत्खनन् गरीरहँदा समेत सम्बन्धित निकायले चासो नदेखाएको स्थानीयले आरोप लगाउँदै आएका छन् ।

लखन्देही खोलाको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययनमा उल्लेख भएअनुसार लालबन्दी ११ बाहुने नाका, हिरपुर, हिरापुर कोइरीटोल नाका, नवलपुर नाका हरविन नगरपालिका गणेशचोक, मोहनपुर र बर्ती टोल नाकाबाट एक दशमलव पाँच (१.५) मिटर अर्थात पाँच फिट गहिराइ ६४ हजार तीनसय ४६ घनमिटर गिट्टी बालुवा निकाल्न मिल्ने गरी १ करोड २८ लाख ९ सय ५५ रुपैयाँ र कालिन्जोर खोला अन्तर्गत भोर्लेनी, रानीगंज,रेल्वेपुल र जब्दी नाका बाट ६३ हजार २ सय ६६ घनमिटर खोलाजन्य पदार्थ उत्खनन् गर्न पाउने गरी १ करोड २९ लाख ९८ हजार ७ सय ६६ रुपैयाँमा लालबन्दी नगरपालिका र आदित्य सोनु कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि.बर्दीबास–८ महोतरीबीच २०८१ कात्तिक २५ गते सम्झौता भएको लालबन्दी नगरपालिकाले जनाएको छ ।

तर नगरपालिका र ठेकेदार कम्पनीबीच भएका सम्झौता भएको भन्दा चार गुणा बढी गहिरो पारेर गिट्टी बालुवा निकालिएको छ । अहिले ठेकेदार कम्पनीले उत्खनन् गरेको लखन्देही खोलाको नजिकै रहेको हिरापुर, चन्द्रपुर, पलार, नवलपुर, गणेशचोक लगायत दर्जनौं गाउँ र उर्बर भूमि बाढी र कटानको उच्च जोखिममा छ । यसरी नै कालिन्जारे खोलाको आसपासमा रहेका दर्जनौं बस्ती र खेतीयोग्य जमिन पनि कटानको जोखिममा छ ।

यसरी मापदण्ड विपरीत ठेकेदार कम्पनीले गलत तरिकाले खोला उत्खनन् गरिरहँदा पनि सम्बन्धित निकायको मौनताले जनप्रतिनिधि, कर्मचारी र ठेकेदार कम्पनीको सेटिङ्ग रहेको स्थानीयबासीले आशंका गरेका छन् । स्थानीयका अनुसार उत्खनन् भएका ठाउँमा सम्बन्धित वडाका वडाध्यक्षहरु समेत आर्थिक प्रलोभनमा परेर कुनै किसिमको चासो नदेखाएको दुखेसो पोखेका छन् ।

दुई खोलामा ठेकेदार कम्पनीले खनेको खाडल १५ देखि २० फिट भन्दा गहिरोसम्म उत्खनन् भएको स्थानीयको आरोप छ । अहिले उक्त नाकाहरुमा आफ्ना गलत हर्कतको प्रमाण लुकाउन उत्खनन् गरिएका ठूलठूला खाडल पुरेका छन् । खोलाले बनाएको लेयर भत्काएर नदीजन्य पदार्थ निकालेपछि बाढी आउँदा गाउँमा पस्ने स्थानीयको चिन्ता छ । सम्झौतामा उल्लेख भए अनुसार सूर्योदय अघि र सूर्योदयपछि उत्खनन् गर्न पाइदैन । तर ठेकेदार कम्पनीले रातको समयमा पनि उत्खनन् गरेको पाइएको छ ।

लालबन्दी नगरपालिका १ का पूर्ववडाध्यक्ष समेत रहेका पञ्चलाल स्याङवोका अनुसार वडाको पलार र नवलपुरको पश्चिमी गाउँ लखन्देही खोलामा आउने बाढीको उच्च जोखिममा रहेको छ ।

आफूले पटक–पटक यस विषयमा सम्बन्धित निकायमा समस्या राख्दा समेत बेवास्ता गरेको पूर्ववडाध्यक्ष स्याङवोले गुनासो गरे । बाढीका कारण सयौं घरधुरी र हजारौं नागरिक असुरक्षित बन्दै आएका छन् । मनपरी नदीजन्य पदार्थ उत्खनन्का कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत कालिन्जोर र लखन्देही पुल समेत जोखिममा रहेको उनी बताउँछन् ।

लालबन्दी १ मा रहेको नन्देश्वर सामुदायिक वन उपभोक्ता समितिका सचिव हरिकुमार कार्कीले जनप्रतिनिधिले समेत जनताको जनधन गुम्ने खतरा नदेखेको भन्दै गुनासो गरे । उनले भने, ‘हामीले भनेको कसैले सुन्दैन के गर्नु । अवैध उत्खनन्ले भोली गाउँमा खोलाको बाढी पसेर पु¥याउने क्षतिको आँकलन गर्दै आतिन्छन् ।’

नागरिकको समस्या समाधान गर्ने भन्दा पनि खोला बेचेरै पैसा कमाउने खेलमा जनप्रतिनिधि लागेको उनले बताए । उनका अनुसार बाढीका कारण वर्षेनी यस वन र खोलाको आसपासमा रहेका खेतीयोग्य जमिन कटानको चपेटामा परेको छ । २०७९ सालमा आएको लखन्देही खोलाको बाढीले करिव सात बिगाह वन कटान गरेको थियो । जसका कारण लाखौंको क्षति व्यहोर्नु परेको थियो ।

ठेकेदार कम्पनीले उत्खनन् गरेको स्थानमा अनुगमन गर्नुपर्ने नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले स्थानीयबाट आएका गुनासोमा कुनै तदारुकता नदेखाउनुमा उनीहरुको समेत मिलेमतो रहेको स्थानीयवासीले आशंका गर्दै आइरहेका छन् ।

यता जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंहका अनुसार मापदण्ड विपरित खोला उत्खनन् गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने बताए । तर नियमित अनुगमन भने नभएको उनले स्वीकारेका छन् । ठेकेदार कम्पनीले बदमासी गरेर सम्झौता विपरित नदीजन्य पदार्थ उत्खनन् गरेको पाइएमा कारबाही गर्ने लालबन्दी नगरपालिकाका नगरप्रमुख बासुदेव अधिकारीले जनाएका छन् ।

सम्बन्धित समाचार

सबै