
खुर्कोट : माओवादीका तत्कालीन जनमुक्ति सेना नेपालका कमान्डर रामबाबु थापा ‘सङ्ग्राम’को निधन भएको छ। क्यान्सरले पीडित उनको उपचारका क्रममा निधन भएको हो।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले उनको निधनप्रति दुःख व्यक्त गरेका छन्। जनयुद्धका उत्कर्षका वर्षहरूमा पूर्वी नेपालमा आफूले लामो समय उनीसँग सहकार्य गर्ने अवसर प्राप्त पाएको पनि शर्माको स्मरण छ।
‘उहाँ महान् जनयुद्धको एक अथक योद्धा हो । एक साहसी एवं दुर्लभ कमान्डर पनि हो’, शर्माले मंगलबार फेसबुकमार्फत भनेका छन्, ‘उहाँ फौजी, प्राविधिक, व्यवहारिक, राजनीतिक ज्ञान र अनुभवहरूले परिपक्व हुनु हुन्थ्यो। नेपालको परिवर्तनको आन्दोलनमा उहाँको अतुलनीय योगदान रहेको छ।’
शर्माले थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनकी जीवन सङ्गिनी सुजाता लगायत सिङ्गो परिवारजन प्रति गहिरो समवेदना व्यक्त गरेका छन्।
सिन्धुलीको गोलन्जोर-७ का थापाको आजै खुर्कोटस्थित सुनकोशी नदि किनारमा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिएको छ।