बलात्कारपछि ‘मृत्यु भएकी’ रिंकुको घरमा नेताहरू, दोषी अझै फरार

सिरहा : सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाका रिंकु सदायको बलात्कारपछि भएको मृत्युको घटनाले विस्तार रूप लिँदैछ। 

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। तर यस्तोमा विभिन्न राजनीतिक दलका नेता तथा संघ संगठनका प्रतिनिधिहरू पीडितको घरमा पुगिरेहका छन्। घटना भएको दुई हप्ता बित्न लाग्दा पनि दोषी पक्राउ परेका छैनन्। 

दोषीलाई गाउँकै अगुवाबाट जोगाउने प्रयास भइरहेको हो। यसअघि पनि सोही सदायबस्तीमा यस्तै घटना दबाइएको थियो। 

यहाँ पनि दोषीलाई डेढ लाख रुपैयाँ जरिवाना पनि गरिसकिएको थियो। तर, पछि दोषीहरूबिच कुरा नमिल्दा यो घटना प्रहरीसम्म उजुरी पुगेको हो। 

हिजो पूर्वगृहराज्यमन्त्री रहेका नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अन्सारी रिंकुकुमारी सदायको घर पुगेका थिए। 

अध्यक्ष अन्सारी पीडितको परिवार तथा त्यहाँका स्थानीय राजनीतिकर्मीसँग भेटेर घटनाबारे जानकारी लिएका छन्। 

अध्यक्ष अन्सारीले प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख वा कसैको दबाबमा नपरी पीडित परिवारलाई न्यायका लागि लड्न आग्रह गरेका छन्। रिंकुलाई न्याय दिलाउन हुने संघर्षमा आफूले पनि साथ दिने उनले बताएका छन्।  

अध्यक्ष अन्सारीले भने, ‘हामी चार दल र नागरिक समाज स्थलगत निरीक्षण गरी गाउँका मान्छे र पीडित परिवारका सदस्यसँग सत्यतथ्य बुझ्दा सामूहिक बलात्कार नै भएको देखिन्छ। तर, घटना लुकाउन र दोषी बचाउन आत्महत्या देखाउन खोजिएको छ।’ स्थानीय केही नेता तथा अगुवाहरूले त्यस घटनालाई दबाउने प्रयास गरिरहेका उनको भनाइ छ। गृह मन्त्रालयलाई नजिकबाट बुझेअनुसार प्रहरीले सत्यतथ्य छानबिन गर्नेमा आफू विश्वस्त रहेको उनले बताए। 

पीडित परिवारलाई भेट्न मधेश प्रदेश सरकारका पूर्वगृहसञ्चार तथा कानुनमन्त्री तथा मधेश प्रदेशसभा सदस्य विमला अन्सारी पनि पुगेकी छन्। प्रदेशसभा सदस्य अन्सारीले आफू महिला भएको कारण रिंकुको पीडा अनुभव गरेको बताइन्। 

केही दिन अगाडि सर्लाहीका सत्येन्द्र राम र नेहा गुप्ताको अन्तरजातीय बिहे भएपछि बहालबाला गृहमन्त्रीको निर्देशनमा उनीहरूलाई पक्राउ गर्न सक्ने प्रहरीले रिंकुको घटनामा संलग्नलाई किन पक्राउ गर्न नसकेको भनी अन्सारीले प्रश्न गरिन्। 

सम्बन्धित समाचार

सबै