सिरहा । सिरहामा लागूऔषध गाँजा ओसारपसारमा प्रयोग भइरहेको अवस्थामा प्रहरीले एक एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–१ स्थित हुलाकी सडकखण्डबाट ज १ च १२१३ नम्बरको एम्बुलेन्ससहित १०५ किलो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ।
चोहर्वाबाट सिरहातर्फ गाँजा ओसारपसार भइरहेको भन्ने गोप्य सूचना पाएलगत्तै प्रहरीले उक्त एम्बुलेन्सलाई पछ्याएको थियो। प्रहरीलाई देखेपछि चालकले एम्बुलेन्सलाई हुलाकी सडकखण्डमा छाडेर फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक नरेश लिम्बूले जानकारी दिए।
प्रहरीले उक्त एम्बुलेन्सको खानतलासी गर्दा भित्र लुकाएर राखिएको पाँचवटा जुटका बोरामा १०५ किलो गाँजा फेला पारेको हो। बरामद गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।
हालसम्म उक्त एम्बुलेन्स कसको हो भन्ने खुलेको छैन। घटनामा संलग्न भई फरार रहेका चालकको पहिचान र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। साथै, उक्त गाँजा कहाँबाट ल्याइएको र कहाँ लैजाने तयारी थियो भन्ने विषयमा समेत थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लिम्बूले बताए।
पछिल्लो समय एम्बुलेन्सजस्तो संवेदनशील सवारी साधनको दुरुपयोग गरी लागूऔषध ओसारपसार हुने गरेको घटनाले स्थानीय स्तरमा चिन्ता बढाएको छ।