सिरहामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु, एक घाइते

सिरहा । सिरहाको नरहा गाउँपालिका–३, रोजी मेडिकलस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ट्रकले ठक्कर दिँदा एकजना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

आज शनिबार बिहान करिब ७:३५ बजेको समयमा गोलबजारबाट मिर्चैयातर्फ जाँदै गरेको ना ४ ख ८५०४ नम्बरको ट्रकले पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परी पैदलयात्री सोही स्थानका अन्दाजी ५१ वर्षीय रामपृत मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

दुर्घटनामा सोही स्थानका साइकलयात्री अन्दाजी ४५ वर्षीय राजातुल अंसारी घाइते भएका छन् । उनको दुवै खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते अंसारीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

दुर्घटनामा संलग्न ट्रक र धनुषाको मिथिला नगरपालिका–९ का अन्दाजी २५ वर्षीय चालक कमलेश महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै