लालबन्दी-१७ मा हात्तीको बथानले केराखेती नष्ट

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकास्थित वडा नम्बर १७ मा हात्तीले केराखेतीमा क्षति गरेको छ।

स्थानीय शिवहरि गौतमलगायतले लगाएको केरा र अन्यबाली गएराति हात्तीले नष्ट गरेको हो ।

गौतमले लगाएको २ बिघा क्षेत्रफलमा लगाएको केराखेतीमा हात्तीको बथान नै छिरेर नष्ट गरेको हो । भर्खरै घरी लाग्दै गरेका धेरैजसो केराका बोटमा हात्तीले क्षति गरेको उनले जानकारी दिए। ‘हात्तीले २५० बोटजति केराका बोट क्षति गरेको छ, लगभग डेढ लाखजति क्षति भएको छ’ उनले भने, ‘पसाउन लागेका केराहरूमा बढी क्षति भएको छ।’

८ महिनादेखि भाडामा जग्गा लिएर केराखेती गर्दै आएका उनलाई हात्तीले क्षति गरेपछि समस्या पारेको बताए । ‘राति हात्ती आएको रहेछ, पानी लगाउन जाँदा केरा नास भएको देखेँ,’ उनले भने ।

हात्तीले आफ्नो केराखेती छेउछाउका अरू बालीमा पनि क्षति गरेको उनले बताए । फेरि पनि हात्ती आउने हो कि भन्ने चिन्ताले सताएको उनको भनाइ छ।

त्यस्तै, सोही हात्तीको बथानले लालबन्दी-१७ बस्ने माधव भट्टराईले करिब ६ कठ्ठामा लगाएको मकै खेती नष्ट गर्दा झन्डै २ लाखको क्षति भएको छ।

जंगली हात्तीले क्षति गरेको मकै

सर्लाहीका विभिन्न स्थानमा केही दिनदेखि हात्तीले उपद्रो मच्चाउँदै आएको छ। केही दिनअघि ईश्वरपुरमा हात्तीले एक जनाको घर भत्काएको थियो।

सम्बन्धित समाचार

सबै