माओवादी जागरण अभियानः प्रचण्ड सर्लाही आउने तालिका हेरफेर

लालबन्दी : नेकपा माओवादी केन्द्रको जारी ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’को समय तालिका हेरफेर गरिएको छ ।

माओवादीले शनिबार मातहतका कमिटीमा सर्कुलर पठाउँदै सर्लाहीदेखि पश्चिमका कार्यक्रम समय हेरफेर भएको जानकारी दिएको एक नेताले बताए ।

समयको चापका कारण सर्लाहीदेखि पश्चिमका कार्यक्रम १/१ दिन सार्नेगरी कार्यतालिका हेरफेर भएको ती नेताले जानकारी दिए । उनका अनुसार सर्लाही जिल्लामा यसअघि फागुन २१ गते हुने भनिएको अभियानको कार्यक्रम अब २२ गते हुने भएको छ ।

यस्तै अब रौतहटमा २३, बारामा २४, पर्सामा २५, चितवनमा २६, नवलपुरमा २७ गते अभियान अन्तरगतको कार्यक्रम हुनेछ । यस्तै नवलपरासी पश्चिममा २८ गते, रुपन्देहीमा चैत २, कपिलपस्तुमा ३, दाङमा ४, बाँकेमा ५, बर्दियामा ६, कैलालीमा ७ र कञ्चनपुरमा ८ गते अभियान अन्तरगतको कार्यक्रम हुनेगरी समय हेरफेर भएको छ । यसअघिको कार्यतालिकाअनुसार ७ गते सम्पन्न हुने भनिएको पहिलो चरणको यो अभियान अब चैत ८ गते सकिनेछ ।

फागुन १२ गते झापाबाट सुरु भएको अभियानको स्वरूप जनसभा, चोकसभा, अन्तर्क्रिया, जनभेटघाट आदि रहेका छन् ।  अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम भएका छन् भने कार्यक्रम तय गर्दा सामान्यतः बिहान, दिउँसो र बेलुका गरी बढीमा तीन स्थानसम्म स–साना कार्यक्रमहरू आयोजना गर्ने गरिएको माओवादीले जनाएको छ ।

सम्बन्धित समाचार

सबै