
लालबन्दी : सर्लाहीका माझी समुदायले धुमधामसँग लदी पर्व (कोशी पुजा) मनाएका छन्। उनीहरूले जिल्लाको लखन्देही, बागमती, एकादशीलगायतका नदि किनारमा जम्मा भएर सामुहिक पूजा, परम्परागत गीत–संगीत, भोज तथा धार्मिक अनुष्ठान गर्दै लदी पर्व मनाएका हुन्।
परम्परागत भेषभूषामा सजिएर बाग्मती नदी किनारमा उपस्थित भएका माझी महिला, पुरुष र बालबालिकाहरूले नदीको पुजाअर्चना गरी परम्परागत संस्कृतिअनुसार धार्मिक विधिहरू पूरा गरेका थिए।
उक्त अवसरमा समुदायका ज्येष्ठ सदस्यहरूले नदी पूजा गर्दै खोला, डुंगा र माछापालनसँग जोडिएको आफ्नो पहिचान र संस्कृतिको महत्वलाई स्मरण गराएका थिए।
नेपाल माझी उत्थान संघको आयोजनामा मनाइएको लदी पर्वका बारेमा जानकारी दिँदै नेपाल माझी उत्थान सङ्घ सर्लाहीका उपाध्यक्ष राजकुमार कुस्वारले बिहान सबैजना सामूहिक रुपमा नदी किनारमा भेला भएर पराम्परागत रुपमा नदीको पूजा गरेको बताए।
उक्त अवसरमा मधेश प्रदेशसभा सदस्य बेची लुंगेलीले समावेशी विकास र समुदायको उत्थान प्रदेश सरकारको प्राथमिकता रहेको बताइन्। उनले सरकार सबै समुदायको हितका लागि काम गरिरहेको र सबै सम्भावित विकल्पहरू प्रयोग गरिरहेको दावी गरिन्।
०७८ सालको जनगणना अनुसार नेपालमा माझी समुदायका एक लाख ११ हजार ३५२ जना रहेका छन्। सर्लाहीमा ९ हजार ३७३ जना माझी समुदायको जनसङ्ख्या रहेको छ।