महोत्तरीमा प्रधानमन्त्रीले उद्घाटन गरे कागज उद्योग

महोत्तरी : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रिजको उद्घाटन गरेका छन्। महोत्तरीको गौशाला नगरपालिका-१ रामनगरमा आयोजित कार्यक्रमबीच प्रधानमन्त्री ओलीले सो उद्योगको उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री ओलीले उद्योग स्थापनाले चुलो चौकोमा सीमित रहनेहरूका लागि पनि सीपका साथै रोजगारी सिर्जना गर्ने बताए। उनले आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यसले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयासबिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेकोले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने जनाए। उनले भने, ‘अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन। सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्। यसमा प्रदेश सरकारहरू पनि अघि सरून्।’

आईएमई ग्रुपको यो उद्योग स्थापना भएसँगै नेपालमा पहिलो पटक नष्ट भएका कागजबाट नयाँ कागज उत्पादन भई आयात कम गर्न सहयोग पुग्ने जनाइएको छ। यस उद्योगले करिब तीन सयलाई रोजगारी दिने र वार्षिक करिब डेढ लाख मेट्रिक टन कागज खपत हुने लक्ष्य राखिएको छ।

सम्बन्धित समाचार

सबै