महोत्तरीमा युवकको विभत्स हत्या : सेफ्टी ट्यांकीभित्र फेला पर्यो शव

महोत्तरी । महोत्तरीको बलवा नगरपालिका–७, बनौटामा एक युवकको विभत्स हत्या गरी शव लुकाइएको अवस्थामा फेला परेको छ।

स्थानीय अशोक ठाकुरको घरको शौचालयको सेफ्टी ट्यांकीभित्र भंगहा नगरपालिका–६, बिर्जौनी टोलका २५ वर्षीय विवेक सरदारको शव फेला परेको हो।

रक्षाबन्धनको दिनदेखि बेपत्ता भएका सरदारको खोजी गर्ने क्रममा उनको शव अत्यन्तै क्रूर ढङ्गले टुक्रा–टुक्रा पारेर सेफ्टी ट्यांकीमा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। हत्याराहरूले शव लुकाउन ट्यांकीमा हालेर माथिबाट सिमेन्ट र बालुवाले प्लास्टर गरेको पाइएको छ।

के थियो घटनाको पृष्ठभूमि?

रक्षाबन्धनको दिनदेखि सम्पर्कविहीन भएका सरदारको खोजीका लागि परिवारजनले प्रहरीमा उजुरी दिएका थिए। अनुसन्धानमा खटिएको प्रहरी टोलीले प्राविधिक विश्लेषण गर्दा विवेकको अन्तिम मोबाइल लोकेसन घटनास्थल आसपासमै देखिएको थियो।

प्रहरी स्रोतका अनुसार विवेकको अन्तिम फोन कल दिपेन्द्र ठाकुरकी श्रीमतीको नम्बरमा गएको अनुसन्धानबाट खुलेको छ। दिपेन्द्रकी श्रीमतीको माइती विवेककै छिमेकी गाउँ भंगहा–७, संग्रामपुरमा पर्ने र सोही नाताले उनीहरूबीच चिनजान रहेको खुलेको छ।

प्रेम सम्बन्धको आशङ्का

वैदेशिक रोजगारीमा रहेका घरधनीका छोरा दिपेन्द्र ठाकुर केही दिनअघि मात्र घर फर्किएका थिए। विवेक र दिपेन्द्रकी श्रीमतीबीचको हिमचिमका कारण योजनाबद्ध रूपमा फोन गर्न लगाएर विवेकलाई घरमै बोलाइ हत्या गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

घटनाको प्रकृति र अनुसन्धानका आधारमा प्रहरीले घरधनी अशोक ठाकुर र उनका छोरा दिपेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएको छ। अहिले प्रहरीले घटनास्थललाई सिल गरेर थप अनुसन्धान गरिरहेको छ।

युवकको यति अमानवीय ढङ्गले हत्या भएपछि स्थानीय क्षेत्रमा त्रास र आक्रोश फैलिएको छ। प्रहरीले घटनामा अन्य व्यक्तिको पनि संलग्नता छ वा छैन भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित समाचार

सबै