
काठमाडौँ : काठमाडौँको गोकर्णेश्वरस्थित एक महिलाको हत्यामा सङ्लग्न भएको आरोपमा प्रहरीले एक नाबालकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा सर्लाही बागमती ढुङ्गेखोलाका कैलाश खड्का, मकवानपुर हेटौँडा शिखरपानीका सुरेश तामाङ, नुवाकोट मेघाङका रोशन तामाङ, सिन्धुपाल्चोक तिपिनेका पूजा परियार र एक नाबालक रहेका छन् ।
काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिक बागमती खोलाको बीच भागमा बोराभित्र पानीमा डुबेको अवस्थामा अन्दाजी वर्ष ३०/३५ की महिलाको शव यही फागुन २४ गते बिहान ११.५० बजे मृत फेला परेको थियो।
प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली खटिई गएको टोलीले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको थियो ।
आरोपीलाई काठमाडौँ जिल्ला अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
शनिबार मध्याह्न करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकको बागमती खोलाको बीच भागमा पानीमा डुबेको अवस्थामा एक महिला मृत भेटिएकी थिइन् ।
प्रहरीले उक्त शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर घटनाबारे अनुसन्धान अघि बढाएको थियो । सो क्रममा ती महिलाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । उनीहरूबाट हत्या गरिएकी महिलाको सनाखत भने हुन सकेको छैन ।