संसदमा राजकिशोरको प्रश्न– ज्ञानेन्द्र एयरपोर्टबाट घर जाँदा किन तर्सिएको ?

गोडैता : जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रथम उपाध्यक्ष एवं सांसद राजकिशोर यादवले पूर्वराजा ज्ञानेन्द्र शाह विमानस्थलबाट घर जाँदा किन आत्तिएको भन्दै सत्ताधारी र प्रमुख प्रतिपक्षी दलका नेतामाथि प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै यादवले राजावादीहरू सल्बलाउनुमा ठूला दलका नेताहरूको कार्यशैली र सरकार सञ्चालनको तरिका जिम्मेवार रहेको बताए । उनले सत्ता र प्रतिपक्षी दलका नेताहरूले संसदमा एकअर्काप्रति आरोप/प्रत्यारोप र रोइलो गरेको टिप्पणी गरे ।

‘प्रमुख प्रतिपक्षी दलका नेताको कुरा पनि सुनियो । सत्तापक्षका होनाहार नेताहरूका कुरा पनि सुनियो । यो सदनको बहस सुन्दा यो बहस नभएर, जनताको आवाज नभएर नेतारुको गनगन र रोइलोजस्तो । मलाई लाग्छ, त्यो एक प्रकारको आफैंप्रतिको अविश्वासको प्रतिकात्मक अभिव्यक्ति थियो’, यादवले भने, ‘कुराका लागि कुरा मात्र गर्ने हो भने एकजना एयरर्पोटबाट आफ्नो घर जाँदा राज्य सत्ता नै तर्सिनुपर्ने, चिन्तित हुनुपर्ने र पुरै सदनको समय खर्चिनुपर्ने अवस्था आयो ।’ 

यादवले यो स्थिति आउनुमा आफूहरूकै व्यवहार जिम्मेवार रहेको र समीक्षा गर्न प्रमुख दलका नेताहरूलाई आग्रह गरे । ‘एकचोटि आफूले रजगज गरेका, आफूले जसरी व्यवस्थाको नाममा राज्य कब्जा गरेर दोहन गरेका ती दिनहरूलाई एकचोटि हामी फेरि रिभिजिट गर्ने हो कि ?’, उनले भने, ‘मलाई लाग्छ अरुतिर औंला उठाउनुअघि हामी सबैले आफैंतिर एकचोटि आत्मसीमक्षा गर्नुपर्ने भएको छ ।’ 

सत्ताधारी दलहरूले राज्यका अंगहरू कब्जा गरेर आफूलाई लिडरका रुपमा नभई ‘डिलर’का रुपमा विकास गरेको आरोप उनले लगाए । दलका नेताहरूले दलपतिका रूपमा शासन चलाउन खोजेकाले असन्तुष्ट जनता राजावादीको प्रदर्शनमा सहभागी भएको उनको टिप्पणी थियो ।

सम्बन्धित समाचार

सबै