
बलरा : स्कोर्पियोको ठक्करबाट बलरामा एक बालकको मृत्यु भएको छ।
नगरपालिका–८ बालुवाभारमा भएको दुर्घटनामा अन्य तीन जना पनि घाइते भएका छन्।
शनिबार राति हुलाकी सडकमा पार्किङ गरेर राखिएको बीआर ०६ पि ई २८२० नम्बरको जिपलाई बालुवाभारबाट मधुवनी गाउँतर्फ जाँदै गरेको बीआर ३० ए ई २४९० नम्बरको स्कारपियोले ठक्कर दिएको थियो।
ठक्करपछि अनियन्त्रित भई सडक छेउमा बसिरहेका मानिसलाई समेत स्कोर्पियोले ठक्कर दिएको प्रहरीले जनाएको छ।
ठक्करबाट भारतको सीतामढी थाना बरगनिया नन्दबारा ग्रामपञ्चायत घर भइ बलरास्थित मामाघर आएका रामेश्वर साहका ५ वर्षीय छोरा पियुषकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
घाइते हुनेहरूमा बलरा नगरपालिका–८, का महेश साहकी छोरी पाँच वर्षीया आशिका कुमारी, ६५ वर्षीय सुनिललाल महतो र ४० वर्षीया लीला देवी रहेका छ्न्। घाइते तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
दुर्घटनापछि चालक गाडी छाडेर फरार भएका छन्। प्रहरीले स्कार्पियो नियन्त्रणमा लिएर फरार चालकको खोजी गरिरहेको जनाएको छ।