
लालबन्दी : लामो समयपछि वर्षा भएसँगै सर्लाहीका किसान खुसी भएका छन् ।
आज बिहानैदेखि पानी परेपछि किसानले लगाएको चैते धान, मकै, परवर, बोडीलगायतका बालीलाई राहत मिलेको भन्दै किसान खुसी भएका हुन्।
लालबन्दी–१७ मा मकैखेती गरेका इन्दल महतो आज भएको वर्षाले अलिकति भए पनि राहत मिलेको बताए। उनले भने, “धेरै समयपछि माटो भिज्ने गरी पानी परेको छ, हाम्रो जस्तो सुक्खा माटो भएको क्षेत्रलाई यसले राम्रो असर गर्छ ।”
लामो समयसम्म पानी नपर्दा नदीबाट सिँचाइ भएको ठाउँमा पानीको कमी हुँदै गएको तथा भूमिगत सिँचाइको सुविधा भएका क्षेत्रमा बिजुलीको अनियमितता हुँदा किसानले आवश्यक सिँचाइ गर्न नपाएको बताएका छन्।