
मलंगवा : सर्लाहीको मलंगवा नगरपालिका-९ स्थित ताज गेस्ट हाउसमा युवती मृत फेला परेकी छन्।
भारतको राजधानी दिल्ली उतरईष्ट सुदामापुरी बस्ने प्रविण कुमारको २८ वर्षिया श्रीमती आरती कुमारी मृत अवस्थामा भेटिएकी हुन्।
गेस्ट हाउसको १०९ नम्बर कोठामा बाल्टिनको सहयोग लिएर सलको पासो लगाएर झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।
गेस्ट हाउसका कर्मचारीहरूले बिहान १० बजे खाना खाएपछि कोठामा गएकी आरती लामो समयसम्म बाहिर ननिस्किएपछि शंका गर्दै झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा हरिवन नगरपालिका–११ का मो. सेराज नामक व्यक्तिले चैत ११ गते गेस्ट हाउसको कोठा नं. १०९ आफ्नो नाममा बुक गरी ती महिलासँग बस्दै आएका थिए।
प्रत्यक्षदर्शीका अनुसार सेराज नामक व्यक्ति पछिल्ला तीन दिनदेखि आरतीलाई भेट्न गेस्ट हाउस आइरहेका थिए र उनी आज बिहान पनि मृतकसँग भेटेर फर्किएका थिए। घटनास्थलबाट प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।