पूर्वपश्चिम राजमार्ग समान रूपले विस्तार नभएको रानीगञ्जका स्थानीयको गुनासो

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १७ मा पूर्वपश्चिम राजमार्ग विस्तार मनपरी ढंगले भएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

कमला–ढल्केबर–पथलैया सडक आयोजना पूर्वी खण्डअन्तर्गत लालबन्दी–१७ रानीगञ्जका स्थानीयले बुधबार राजमार्ग विस्तार एकतर्फी रूपले भएको भन्दै विरोध जनाएका हुन् ।

उत्तरभन्दा दक्षिणी बढी खनिएपछि स्थानीयले सडक विकास आयोजना बर्दिवासलाई आज पत्र लेखेर यसबारे आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन् ।

पूर्वपश्चिम लोकमार्गको कमला-ढल्केवर-खण्डमा हाल धमाधम सडक विस्तार भइरहेको छ । उक्त राजमार्गको बीच भागबाट २५/२५ मिटर दायाँबायाँ सडक विस्तार गर्नुपर्नेमा सोअनुसार नभएको स्थानीयको आरोप छ ।

निर्माण कम्पनीले फूलजोर खोलादेखि कालिन्जोर खोलासम्म दक्षिणतर्फ २० र उत्तरतर्फ मात्र ६ मिटर गरी २६ मिटर सडक विस्तार गरेको स्थानीयले बताउँदै आएका थिए ।

मूल बाटोको मध्य भागबाट उत्तर र दक्षिणतर्फ बराबर हुनेगरी नाप नक्सा बनाई कसैलाई लाभ र हानि नहुने गरी संरचना तयार पार्न उनीहरूले माग गरेका हुन् ।

बुधबार लालबन्दी नगरपालिका वडा नम्बर १७ स्थित वडा कार्यालयमा स्थानीयले एक बैठक राखी बर्दिबासस्थित आयोजनाको कार्यालयलाई पत्र लेखेका हुन् ।

विस्तारका क्रममा दक्षिणतर्फका राजमार्ग आसपास रहेका स्थानीयलाई खानेपानी, पाइप, बिजुलीको पोल, सहायक बाटो प्रयोग गर्न समस्या भएको पत्रमा जनाइएको छ ।

सडक विस्तारका कारण मूल सडकसम्म जोडिन कठिनाइ भएकाले राजमार्गबाट बराबर सडक विस्तार हुनुपर्ने उनीहरूले माग गरेका हुन् ।

साथै जनताले प्रस्टसँग बुझिने गरी निर्माण लागत निर्माणधीन, निर्माण गर्ने कम्पनी, बाटोको चौडाइ कुलोको लेन, नाला, पब्लिक लेन, सर्विस लेन खानेपानी, बिजुलीको पोल र रेलिङ के कसरी निर्माण भइरहेको छ प्रस्टसँग लेखेर होर्डिङ बोर्ड राख्न पनि उनीहरूले पत्रमार्फत माग गरेका छन् ।

यसैगरी चालु बाटो पहिलाको नापनक्साविना निर्माण कार्य थालिएकाले व्यक्तिको स्वामित्वमा भएको जग्गाको मुआब्जा पनि पाउनुपर्ने उनीहरूले पत्रमा माग गरेका छन् । नगरपालिकाभित्र समान रूपले सडक निर्माण कार्य गर्न पनि उनीहरूले माग गरेका छन् ।

राजमार्गको पूर्वी खण्डमा विश्व बैङ्कको १८ अर्ब ६० करोड ऋण सहयोगमा ठेक्का लागेर काम भइरहेको छ । आगामी सन् २०२७ सम्म पूर्वपश्चिम राजमार्गको पूर्वी खण्ड स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ ।

पूर्वमा कमला नदीदेखि पश्चिम सर्लाहीको बागमती नदीसम्म ७४.७५ किलोमिटर लम्बाइको पूर्वी खण्डको सडक स्तरोन्नतिको काम गएको पुस १७ देखि सुरु भएको थियो ।

अहिले दुई लेनको पूर्वपश्चिम राजमार्गलाई एसियाली मापदण्डअनुसार सहरी तथा बजार क्षेत्रमा छ लेनसहित ३१ मिटर फराकिलो पार्ने र त्यसबाहेक ठाउँमा ‘मेडियन’सहित १८ मिटर चौडाइको चार लेनमा स्तरोन्नति गरिँदै छ ।

सम्बन्धित समाचार

सबै