
लालबन्दी : सर्लाहीको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको सघन उपचार कक्षको ढोकामा ताल्चा झुण्डिएको ६ वर्ष भयो। उपचार कक्षमा एउटा आईसीयू र एक थान भेन्टिलेटर छ। तर, त्यसको प्रयोग गर्ने दक्ष चिकित्सक छैनन्। उपचार केन्द्रले विगत छ वर्षदेखि दक्ष चिकित्सक भर्ना गर्न पटकपटक सूचना आह्वान गर्दा कोही चिकित्सक भर्ना हुन आएका छैनन्।
विज्ञापन गर्दा कहिले आवेदन नपर्ने, कहिले छनोट भएका चिकित्सक नियुक्ति लिनै नआउने गरेका केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताए। सर्पको बिगबिगी हुने महिनामा केन्द्रमा दैनिक ठूलो सङ्ख्यामा बिरामी आउने गरेका छन्। सर्पले डसेर आएकामध्ये जटिल प्रकृतिका बिमारीलाई तत्काल आईसीयू र भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने हुन्छ।
उपचार केन्द्रमा उपकरण तयारी अवस्थामा भए पनि सञ्चालन गर्ने जनशक्ति नहुँदा बिमारीलाई अन्यत्र रिफर गर्नुपरेको अध्यक्ष पौडेलले बताए। ‘विषालु सर्पले डसेर गम्भीर अवस्थामा पुगेका बिरामीसँग बाटोको समय हुँदैन’ केन्द्रका इन्चार्ज एवं हेल्थ असिस्टेन्ट जगर्नाथ यादवले भने, ‘लैजाँदै गर्दा बाटोमै ज्यान गएका धेरै घटना छन्।’
सर्पदंशका कारण गम्भीर भएका बिरामीको उपचारका लागि केन्द्रले २०७५ सालमा आईसीयू र भेन्टिलेटरको व्यवस्था गरेको थियो। तत्कालीन समयमा स्वयंसेवकका रुपमा कार्यरत चिकित्सक अर्जुन लामाले उक्त उपकरण सञ्चालन गर्ने गरेका थिए। तर, २०७६ साल असार २३ गते राति उपचारको क्रममा सर्लाहीको हरिवनकी दुई वर्षीया बालिकाको केन्द्रमा मृत्यु भयो।
घटनापछि बालिकाका आफन्तले केन्द्रको सघन उपचार कक्षमा रहेको उपकरण तोडफोड गर्नुका साथै चिकित्सक लामामाथि हातपात गरेका थिए। त्यस घटनापछि केन्द्रको सघन उपचार कक्षमा ताला लागेको हो। तोडफोड भएको उपकरण प्रदेश सरकार र लालबन्दी नगरपालिकाको बजेटबाट मर्मत गरे पनि चिकित्सक भने अझै आउन मानेका छैनन्।
दक्ष जनशक्ति नहुँदा आईसीयू र भेन्टिलेटर ६ वर्षदेखि प्रयोग बिना राख्नुपरेको केन्द्रका अध्यक्ष पौडेलको गुनासो छ। आईसीयू र भेन्टिलेटर सञ्चालन गर्न जान्ने चिकित्सक नियुक्त गर्न केन्द्रले गत चैतमा मात्रै आवेदन मागेको थियो। पाँच जना चिकित्सकले आवेदन भरेका पनि थिए। तर, उत्तीर्ण चिकित्सक नियुक्ति लिनै नआएको उनको भनाइ छ।
चार वर्ष पहिला उपचार केन्द्रमा कार्यरत एक चिकित्सक र दुई जना स्वास्थ्यकर्मीलाई तालिमको लागि केन्द्रले धरान पठाइएको थियो। सर्पले डसे र गम्भीर अवस्थामा ल्याएका बिरामीलाई तुरुन्त आईसीयू र भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने हुन्छ।
उपचार केन्द्र खुला स्थानमा रहेकाले स्थानीय र बिरामीका आफन्तको भीड उपचार कक्षसम्म पुग्ने गर्छ। यसले गर्दा चिकित्सकले स्वतन्त्ररूपमा उपचार गर्न नपाउने गरेको अध्यक्ष पौडेलको भनाइ छ। हाल यस केन्द्रमा एक जना एमबिबिएस चिकित्सकसहित आठ जना स्वास्थ्यकर्मी कार्यरत छन्। नेपाली सेनाका दुई जना स्वास्थ्य कर्मचारी २४सै घण्टा निःशुल्क खटिने गरेका छन्।