
चन्द्रनगर गाउँपालिकाले विद्यार्थीलाई निःशुल्क कम्प्युटर सिकाउने
लालबन्दीः सर्लाहीको चन्द्रनगर गाउँपालिकाले कक्षा १२ र एसईई दिएर बसेका २५ जनालाई निःशुल्क कम्प्युटर कक्षा दिने भएको छ।
हिजो बिहीबार एक सूचना निकाल्दै गाउँपालिकाले यही जेठ १० गतेबाट कक्षा सञ्चालन हुने जनाएको हो। जसका लागि गाउँपालिकाको सूचना प्रविधि शाखामा यही जेठ ७ गतेभित्र कार्यालय समयमा आफ्नो कागजात र निवेदनसहित उपस्थित हुन भनिएको छ।
गाउँपालिकाले कम्प्युटर शिक्षाका लागि एक थान निवेदन, नागरिकता वा जन्मदर्ताको प्रतिलिपि, एसईई वा कक्षा १२ को परीक्षामा सहभागी भएको प्रवेश पत्र वा विद्यालयको सिफारिस चाहिने उल्लेख गरेको छ।
तर गाउँपालिकाले किन २५ जनालाई मात्र सहभागी गराउन लागेको भन्ने सर्लाही न्युजको प्रश्नमा गाउँपालिका अध्यक्ष राजकुमार महतोले भने, ‘यसपालि सुरु गर्न लागेका हौँ। पछि धेरै विद्यार्थीलाई समेट्ने लक्ष्य राखेका छौँ।’
गाउँपालिकाको सूचना प्रविधि शाखाले एउटा क्राइटेरिया बनाएर त्यसैअनुसार यो पटक २५ जना मात्र सहभागी गराउन लागिएको उनले बताए।