सर्लाही जिल्लामा व्यावसायिक तरकारी उत्पादन गर्ने किसानहरूले आफूखुसी रूपमा अत्यधिक मात्रामा कीटनाशक विषादी प्रयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ। यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खतरा बढाएको छ।
हालै काठमाडौँको बल्खु तरकारी बजारमा सर्लाहीबाट पठाइएको बोडी परीक्षण गर्दा बारम्बार विषादीको मात्रा सुरक्षित सीमा भन्दा धेरै बढी फेला परेको छ।
लालबन्दीस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले जेठ १ गते गरेको परीक्षणमा ईश्वरपुर नगरपालिका–४, सागरनाथका किसानबाट खरिद गरिएको मिटर बोडीमा ६०.३०४ प्रतिशत अर्गानोफस्फेट विषादीको अवशेष पाइएको थियो।
अत्यधिक विषादी भेटिएपछि ६७ किलोग्राम बोडी नष्ट गरिएको थियो।
तरकारी उत्पादन गर्दै आएका किसानहरूले विषादी नहाले तरकारीमा किराको प्रकोप लाग्ने तथा बिक्री गर्न गाह्रो हुने बताएका छन्। लालबन्दी नगरपालिका–१० का किसान रमेश भुजेल भन्छन्, “विषादी नहाले त तरकारी फल्दैन। हेर्दा सर्लक्क परेको तरकारी किन्ने उपभोक्ताको मनोविज्ञान पनि त्यसतर्फ उन्मुख छ।”
किसानहरूले प्रायः एग्रोभेट पसलबाट विषादी लिएर दिनहुँ प्रयोग गर्ने गरेका छन्।
तर, कसरी र कति मात्रामा प्रयोग गर्ने भन्ने ज्ञानको अभाव देखिएको छ। लालबन्दी थोक तरकारी बजारका अध्यक्ष प्रमोद थपलियाका अनुसार विषादीको जथाभावी प्रयोगबारे रोकथाम गर्ने निकायबाट कुनै ठोस पहल नहुँदा अवस्था झन् भयावह बन्दै गएको छ।
“किसानले विषादी हालेको तरकारी त्यसै दिन बजारमा बिक्री गर्न ल्याउने गरेका छन्, किनभने भोलिसम्म राखे ओइलिन्छ वा कीरा लाग्छ भन्ने डर हुन्छ,” थपलिया भन्छन्।
यस समस्याबारे छलफल गर्न हालै लालबन्दीमा जनप्रतिनिधि, एग्रोभेट सञ्चालक, कृषि प्राविधिक, व्यापारी र किसानहरू सहभागी छलफल कार्यक्रमसमेत सम्पन्न भएको थियो।
केन्द्रीय कृषि प्रयोगशालाले स्थापना गरेको लालबन्दीको विषादी परीक्षण प्रयोगशालामा दैनिक १० जना किसानका तरकारीको नमुना परीक्षण भइरहेको छ। विषादीको मात्रा अत्यधिक भएपछि व्यापारीले खरिद गरिसकेको तरकारी नष्ट गर्दा असन्तुष्टि व्यक्त गरेका थिए।
लालबन्दी नगरपालिकाका उपप्रमुख कल्पनामाया पाख्रिनले किसानले विषादी प्रयोग बढाउँदै लगेको स्वीकार गर्दै यसमा नियन्त्रण गर्न नसकिएको बताइन्। उनका अनुसार, विषादी प्रयोग नियन्त्रण गर्न सरकारी तहबाट सचेतना कार्यक्रम र कडाइका साथ नीति कार्यान्वयन आवश्यक छ।
गोरखापत्रबाट