बागमती : सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोस्टबाट आइतबार बिहान पौने ८ बजे एक ट्रकबाट ठूलो परिमाणमा बिल बिजकविनाका सामान बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्रहरी नायब निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले रुपन्देही, बुटवलबाट मोरङतर्फ जाँदै गरेको प्र ३–०१–००५ ख ९४६० नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकभित्र जिरा पाउडर, कस्मेटिक सामग्री, टायर, हेलमेट, मोटर पार्ट्स, ब्याट्री, मेडिसिन, मेसिन, हार्डवेयर सामान, किचन सिंक लगायतका विभिन्न खुद्रा सामग्री बरामद गरेको हो ।
प्रहरीका अनुसार तीमध्ये धेरै सामानको बिज र मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी बिल बिजक नभएको, कतिपय कागजात शंकास्पद देखिएकोले ट्रकसहित सामान नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको ट्रक र सामान ४७ लाख ९७ हजार ५०१ रुपैयाँ कायम गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बाराको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
उक्त चेकजाँच गरिएको स्थान प्रहरी कार्यालयबाट करिब ५० मिटर दक्षिणमा पर्छ।