नवलपुरमा स्कोरपियोसहित सुनचाँदी बरामद, गाडी छोडेर गएका भारतीय फर्किएनन्

लालबन्दी : सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा भन्सार छली गरिएको स्कोर्पियो गाडी र त्यसमा लुकाइछिपाई राखिएको करिब १५ लाख रुपैयाँ बराबरको अवैध सामानसहित सवारी नियन्त्रणमा लिइएको छ।

शनिबार बिहान करिब ९:३० बजे ट्राफिक प्रहरी कार्यालय नवलपुर अगाडिको सडक खण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, सर्लाहीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको नियमित चेकजाँच टोलीले बीआर ३० एके ७२२० नम्बरको भारतीय नम्बर प्लेट भएको स्कोर्पियो गाडी रोकेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा चालकसँग कुनै पनि भन्सार सम्बन्धी कागजात नभेटिएको र उनी मादक पदार्थ सेवन (मा.प.से) गरेको अवस्थामा फेला परेपछि अर्को चालक बोलाई ट्राफिक नियमअनुसार जरिवाना तिरिसकेपछि मात्र जान दिन जानकारी गराइएको थियो। तर, चालकसहित चार जना व्यक्ति गाडी छाडी आवश्यक कागजात र अर्काे चालक ल्याउने भन्दै गएका थिए। उनीहरू लामो समयसम्म नफर्किएपछि सुरक्षाका दृष्टिले गाडी नियन्त्रणमा लिइएको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय लालबन्दीको टोली स्थानीयवासी र जनप्रतिनिधिको रोहवरमा गाडीको तलासी गर्दा अगाडिको इन्जिन भागमा प्लास्टिकले बेरेको झोलाभित्र गम्छाले बेरेका अवस्थामा सुनचाँदीका गरगहना फेला पारिएको थियो। त्यसैगरी गाडीको अन्य भागबाट पनि चाँदीका सामग्री र नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको सामानको मूल्य करिब १५ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ। सवारीसहितका सम्पूर्ण सामान भन्सार छली चोरी पैठारीसम्बन्धी कारबाहीका लागि सर्लाही भन्सार कार्यालय, मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ।

प्रहरीले सो घटनाको थप अनुसन्धान जारी राखेको छ।

सम्बन्धित समाचार

सबै